Hamro Sanchar

अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा बोल्ने

प्रकाशित : २०७९ असार, २२ गते


Advertisement

काठमाडौं, असार २२- अर्थमन्त्री जनार्दन शर्माले बुधबार संसदमा बोल्ने भएका छन् । राजिनामा दिनु पर्ने भन्दै चौतर्फी आलोचना भएपछि आज ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा शर्माले आफ्ना कुरा राख्न लागेका हुन् ।

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बुधबार बिहान बसेको माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकपछि शर्माले संसदबाट आफ्ना कुरा राख्न लागेका हुन् ।

बैठकमा सहभागी माओवादी नेता हरिबोल गजुरेलले अर्थमन्त्री शर्माले आज आफ्नो कुरा राख्ने र त्यसपछिको अवस्था हेरेर अघि बढ्ने तयारी रहेको बताए ।

आर्थिक वर्ष २०७९/८० को बजेट बनाउँदा अर्थमन्त्री शर्माले एकजना पूर्वनायब सुब्बालाई करका दरहरू हेरफेर गर्न लगाएको भन्ने आरोप छ ।

बजेट घोषणा हुनु अघिल्लो दिनको अर्थ मन्त्रालय सिसिटिभी फुटेज माग्दा मन्त्रालयले त्यो डिलिट भइसकेको गैरजिम्मेवारपूर्ण जवाफ दिएको छ ।

मन्त्रालयको गैरजिम्मेवारपूर्ण जवाफपछि अर्थमन्त्री शर्मामाथि छानबिन हुनु पर्ने र त्यसका लागि उनले राजीनामा दिनुपर्ने माग चौतर्फी उठिरहेको छ ।


प्रतिकृया दिनुहोस्