काठमाडौं, असार १६- हिमालय एयरलाइन्सले काठमाडौं-कुवेत सिधा उडान शुरु गर्ने भएको छ । आउँदो जुलाई १५ तारिख देखि उडान शुरु गर्न लागेको एयरलाइन्सका प्रतिनिधि बसन्त न्यौपानेले जानकारी दिएका छन् । हिमालयले काठमाडौं-कुवेत उडान शुरु गर्न आवश्यक प्रक्रिया मिलाउन कुवेत आएका एयरलाइन्सका प्रतिनिधिहरुले कुवेतस्थित नेपाली दुतावास राजदुत दुर्गा प्रसाद भण्डारीलाई समेत भेट गरि जानकारी गराएका छन् ।
बैदेशिक रोजगारीको लागि नेपालीहरुको आकर्षण बन्दै गएको कुवेतमा नेपाली ध्वाजाबाहक विमान हिमालयले उडान भर्ने भएपछी कुवेतबासी नेपालीहरुको लागि अझ सहज बन्ने भएको छ ।
पछिल्लो पटक कुवेतबाट जजिरा एयरलाइनसले सिधा उडान गरिरहेको छ । जजिराले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित र भर्खरै मात्रै संचालनमा आएको भैरहवा स्थित गौतम बुद्द अन्तर्राष्ट्रिय विमानस्थलमा समेत साता ३ दिन उडान भर्दै आएको छ ।
हिमालयको पहिलो उडान १५ जुलाई राती १०:२५ बजे काठमाडौंबाट र १६ जुलाई बिहान २ बजे कुवेत सिटीबाट काठमाडौंका लागि प्रस्थान गर्ने त्यहाँस्थित राजदूतावासले जनाएको छ ।
नेपाल र कुवेतबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वार्षिकोत्सवको अवसरमा दुई देशबीच प्रतिस्पर्धात्मक एवं गुणात्मक हवाई सेवा प्रदान गर्दै यात्रुहरूको आवत-जावतलाई थप सहज बनाउने राजदूतावासले विश्वास गरेको छ ।