Hamro Sanchar

दियालेखर्कमा खानेपानीको हाहाकार: पहुँचवालाका घरका दलिनमा आयोजनाका पाइप, ७१ लाख कहाँ पुग्यो ?

प्रदिप नेपाली प्रकाशित : २०७९ असार, २० गते


Advertisement

दोलखा, असार २०- दोलखाको मेलुङ गाउँपालिका-१ दियालेखर्कको ‘घ्याङखोला खानेपानी आयोजना’मा चरम अनियमितता भएको पाइएको छ । २०६४ सालमा घ्याङखोला खानेपानी आयोजनाका नाममा ९८ लाख रुपियाँ बजेट निकासा भएको थियो । तर हालसम्म ७१ लाख सकिँदा पनि खानेपानी आयोजनाको काम अलपत्र परेको छ ।

आयोजना सकेर घर-घरमा पानी पुर्याउने समयमा आयोजनाको काम कागजी रुपमा ७१ लाख सकेर अलपत्र परेको छ । घ्याङखोला खानेपानी आयोजना भनिएपनि उपभोक्ता समितिले चतुर्याइँ गर्दै ढाडेखोला नजिकको मुहानबाट पानी ल्याउन सुरु गरेको थियो । यो मुहान घ्याङखोला खानेपानी आयोजनाभन्दा झन्डै ३ किलोमिटर नजिक पर्छ ।

उक्त खानेपानी घर-घरमा ल्याउन २०६५ सालमा ध्रुब कार्कीको अध्यक्षतामा उपभोक्ता समिति बन्यो तर आयोजनाका लागि बजेट निकासा भएको केहि समयमै कार्की समितिबाट फालिए । त्यसपछि २०६५ सालमै नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रलगायतका दलको सहमतिमा बालकृष्ण तामाङको अध्यक्षतामा शान्ता बिक र छत्र बुढाथोकी रहेको समिति बन्यो । उक्त समितिले २०६९ सालसम्म ३० लाख बराबर काम गरेको कागजी प्रमाण देखायो । त्यसपछि २०६९ सालमै एमालेका वडाअध्यक्ष शोभित प्रसाद उप्रेतीकी श्रीमती सोबिता खरेल ‘उप्रेती’को अध्यक्षतामा कोषाध्यक्षमा हरि पाण्डे र शान्ता बहादुर बुढाथोकी सचिव रहेको उपभोक्ता समिति बन्यो । त्यो समितिले पनि ४१ लाख खर्च भएको बताएको छ । हालसम्म पनि यहि समिति कायम छ ।

ती समितिले ७१ लाख रुपियाँ सकिएको तथ्यांकमा उल्लेख गरेपनि काम भने भौतिक संरचना तर्फ ३० प्रतिशत मात्र सकिएको छ । १ करोड ३४ लाख २७ हजार लागत अनुमान गरिएको यो योजनाले दियालेखर्क साबिक १/२ र ३ नम्बर वडाका ५ सय ५५ घरका ३ हजारभन्दा बढी जनता लाभान्वित हुने बताइएको थियो । एक घर, एक धारा भनिएपनि खानेपानीका जम्मा १२/१३ धारा बनेका छन्, ती पनि जिर्ण अवस्थामा छन् । कहिँ कतै पाइपहरु गाडिएका छैनन् भने जीआइ पाइप जंगलभरि यत्रतत्र छरिएर रहेका छन् । यतिसम्मकी, केहि जीआइ पाइपहरु पहुँचवालाका घर निर्माणमा दलिनका रुपमा प्रयोग गरिएका छन् । ट्यांकी बनेको छ तर त्यसको संरचना नै ध्वस्त भैसकेको छ ।

ध्वस्त भैसकेको पानी ट्यांकी

अझ रोचक त खानेपानीको संरचना नै नभएको उक्त आयोजनामा यो आर्थिक बर्षमा पनि मर्मतका लागि भन्दै १० लाख रकम आएको छ । उपभोक्ता र प्राविधिकहरुको मिलेमतो यतिसम्म हुँदा पनि स्थानीयहरु योजनामा कति रकम आयो, कति काम भयो, कहाँ-कहाँ खर्च भयो ? बेखबर छन् ।

यस्ता आयोजनामा ‘खानेपानी तथा सरसफाइ कार्यालय’ र ‘उपभोक्ता समिति’ले स्थानीय कुनै जनप्रतिनिधि वा व्यक्तिसँग समन्वय र सहकार्य नगरेको जनप्रतिनिधिको आरोप छ । एक स्थानीय जनप्रतिनिधिले हाम्रोसंचारसँग कुरा गर्दै भने, ‘खानेपानी कार्यालयका प्रतिनिधि आएर हामीलाई नभेटी जान्छन्, कुन दिन आउछन्, को-को आउछन् ? हामीलाई थाहा हुन्न । उपभोक्ता समितिले पनि खबर गर्दैन ।’

१४ बर्षसम्म ३ वटा उपभोक्ता समिति बनेर यति धेरै रकम खर्च गरिसक्दा पनि खानेपानीको समस्या जस्ताको त्यस्तै भएपछि स्थानीय युवा राजन बोहोराले सामाजिक संजाल मार्फत समस्या उजागर गरेका थिए ।

संचालनमा नआउदै जिर्ण बनेको धारो

स्थानीयवासी खानेपानीको चरम अभाव खेप्न बाध्य भएको भन्दै पहिलो पटक हाम्रोसंचारको सम्पर्कमा आएका बोहोराले धेरै रकम खर्च हुनु र काम नहुनुमा उपभोक्ता समिति र ‘खानेपानी तथा सरसफाइ कार्यालय’को बदमासी भएको बताए । उनले भने, आयोजनामा काम कागजमा मात्र निर्माण हुन्छन्, आँखामा छारो हालेर केहि संरचना निर्माण भए ती पनि जिर्ण अवस्थामा छन् । निर्माण र मर्मतका लागि भन्दै आएका बजेट कसका खल्तीमा पुग्छन् पत्तो हुन्न । स्थानीय बर्षौदेखिको समस्या भोग्दै आएका छन् । सम्बन्धित निकायमा छानबिनका लागि माग नगरिएको पनि होइन तर कतैबाट सुनुवाई हुँदैन । खानेपानी जस्तो महत्वपूर्ण बिषयमा हेलचेक्र्याइँ गर्नु मानवीय अपराध हो ।’

यत्रतत्र छरिएर रहेका जीआइ पाइपहरु

‘छरछरे खानेपानी आयोजना’ बिकल्प, ४५ घरको एउटै धारो

खानेपानीको समस्याबाट गुज्रिएको दियालेखर्कको बोहोरा टोलका ४५ घरधुरीका लागि ‘छरछरे खानेपानी आयोजना’ बिकल्प बनेको छ । आर्थिक बर्ष २०४४/४५ मा योजनामा परेर २०५० सालमा सम्पन्न ‘छरछरे खानेपानी आयोजना’ले त्यस क्षेत्रका धेरै स्थानीयको जीवन बचाएको छ । २०५० सालदेखि स्थानीयले रकम उठाएर उक्त खानेपानीको संरक्षण र मर्मत गर्दै आइरहेका छन् । तर विडम्बना पानीको मुहान सुक्दै जान थालेपछि २०६८ सालदेखि चौकीदार नै राख्नु परेको छ । चौकीदारले बिहान ६ बजेदेखि ९ बजेसम्म ३ घण्टा पानी छोड्ने नियम छ । बिहानको ३ घण्टा पूरै समय धारामा पानी आएको दिन हरेक परिवारको भागमा मुस्किलले दैनिक ७ गाग्री मात्र पानी पर्छ । टोलभरिकै लागि एउटा मात्रै धारा भएकाले पानी भर्ने भाँडा राती नै लाइनमा राखेका हुन्छन् । बिहान सबेरै जानेले फाल्दिन्छन् र त्यसमै झगडासमेत पर्ने गरेको छ ।

चौकीदारलाई मासिक तलब दिन प्रत्येक परिवार ३० रुपियाँबाट सुरु गर्दै आएपनि अहिले बढाएर १०० रुपियाँ पुर्याइएको छ । उक्त रकमबाट चौकीदारलाई ३ हजार र बाँकी रकमले मर्मत सम्भारको काम गरिने स्थानीय बताउछन् । तर त्यो रकम पनि ९ महिनादेखि उठ्न सकेको छैन भने चौकीदारले तलब पनि पाएका छैनन् ।

वडाको बोहोरा गाउँ मात्र होइन छिमेकी सार्की गाउँ, विक टोलका ५६ घरधुरीको पानीको प्यास पनि यहि छरछरे खानेपानी आयोजनाले धान्दै आएको छ । यी टोलमा पनि बिहान झिसमिसेमै पानी भर्न लाइन बस्नुपर्छ ।

‘पानीको ग्यालिन बोक्दा–बोक्दा टाउको खुइलिसक्यो । तर, हाम्रो समस्या कसैले हेरेनन् । हामीले खानेपानीका लागि वर्षेनी भौतारिनु परेको छ । गाउँमा खानेपानीको अभाव हुँदा यहाँका महिलाहरूले बढी समस्या भोग्नु परेको छ ।’ एक स्थानीय महिलाले भनिन् ।

‘निर्वाचनका बेला सबै नेताले खानेपानी पुर्‍याउने आश्वासन दिन्छन्, गाउँमा खानेपानी पुर्‍याउँछु भन्ने कता गए थाहा नै छैन् । हाम्रा लागि त सरकार नै छैन जस्तो छ ।’ उनले गुनासो गरिन् ।

बषौदेखि खानेपानीको समस्या झेलिरहेका स्थानीयले पानी अभावकै कारण बस्तुभाउ पाल्नसमेत छोडेको उनको बनाइ छ ।


प्रतिकृया दिनुहोस्