काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–४ मा एकैपटक १० करोड १० लाख रुपैयाँभन्दा बढी लागतका चारवटा सडक कालोपत्रे हुने भएका छन्। लामो समयदेखि कच्ची तथा जीर्ण अवस्थामा रहेका सडक कालोपत्रे हुने भएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन्।
नगरपालिकाको वडा नं. ४ अन्तर्गत विभिन्न स्थानका चारवटा सडकलाई एकैसाथ कालोपत्रे गर्न लागिएको हो। यसअन्तर्गत ब्रह्मखेल–नयाँपार्टी–चाँगुनारायण सडकका लागि ७० लाख रुपैयाँ, बाघधारा–खत्रीपोखरी सडकका लागि ७० लाख रुपैयाँ, नयाँगाउँ–सिंखडागाउँ–थली सडकका लागि ४ करोड ७० लाख रुपैयाँ र ब्रह्मखेल–दूरसञ्चार–जसपुर–भद्रबास सडकका लागि ४ करोड रुपैयाँ विनियोजन गरिएको छ।
यी चारवटै सडकको कुल लागत १० करोड १० लाख रुपैयाँ हुन्छ।
सडक कालोपत्रे कार्य अघि बढाउन प्राविधिक टोलीले स्थलगत निरीक्षण तथा नापजाँचसमेत गरेको छ। वडा नं. ४ का अध्यक्ष विजय श्रेष्ठ ‘धन’सहित प्राविधिक टोलीले सडकको चौडाइ, सतहको अवस्था, ग्रेडिङ, नाली व्यवस्थापनलगायत कालोपत्रे गर्नुअघि आवश्यक प्राविधिक पक्षको अवलोकन गरेको हो।
वडाअध्यक्ष श्रेष्ठकाअनुसार चारवटै सडक निर्माणको जिम्मेवारी एउटै निर्माण व्यवसायीले पाएको छ। निर्माण कार्यलाई तीव्रता दिई आगामी एक महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
निरीक्षणका क्रममा सडक निर्माण निर्धारित मापदण्डअनुसार गुणस्तरीय बनाउन र तोकिएको समयभित्र काम सम्पन्न गर्न सम्बन्धित पक्षलाई आवश्यक निर्देशनसमेत दिइएको छ।
सडक कालोपत्रे भएपछि यस क्षेत्रको आवागमन सहज हुनुका साथै स्थानीयले भोग्दै आएको धुलो र हिलोको समस्या अन्त्य हुने अपेक्षा गरिएको छ।
त्यस्तै, कागेश्वरी मनोहरा नगरपालिका र ऐतिहासिक पर्यटकीय क्षेत्र चाँगुनारायणबीचको सडक सम्पर्क थप सहज हुने विश्वास गरिएको छ।

























