Skip

Hamro Sanchar

भीमफेदी दुर्घटनापछि आङ्देम्बेको प्रश्न : ‘नागरिकको ज्यान गइरहने, सरकार किन गम्भीर हुँदैन ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, २७ गते


Advertisement

काठमाडौँ । मकवानपुरको भीमफेदीस्थित चिसापानीगढीमा भएको भीषण सवारी दुर्घटनालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रश्न उठाएको छ ।

१४ जनाको ज्यान गएपछि नेपाली कांग्रेस संसदिय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।

उनले सडक दुर्घटनामा नागरिकले अकालमै ज्यान गुमाइरहँदा पनि सरकारले सडक सुरक्षालाई गम्भीरतापूर्वक नलिएको भन्दै असन्तुष्टि जनाएका हुन्।

आङ्देम्बेले सवारीसाधनको नियमित प्राविधिक परीक्षण, क्षमताअनुसार यात्रु राख्ने व्यवस्था, यात्रुको विवरण अभिलेख र प्रहरी निगरानीलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

छठ पर्व मनाउन परिवारसहित घर फर्किरहेका यात्रु दुर्घटनामा परेको घटनाप्रति दुःख व्यक्त गर्दै उनले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको सम्पूर्ण उपचारको व्यवस्था मिलाउन पनि सरकारसँग आग्रह गरेका छन्।

उनले यसअघि रोल्पाको जलजलामा भएको दुर्घटनामा २० जनाको मृत्यु भएपछि गठन गरिएको छानबिन समितिको प्रतिवेदनसमेत सार्वजनिक नभएको विषय उठाएका छन्।

दुर्घटना भएपछि छानबिन समिति गठन गर्ने, केही दिन चर्चा गर्ने तर प्रतिवेदन सार्वजनिक नगरी घटना बिर्सने सरकारी प्रवृत्ति अन्त्य हुनुपर्ने उनको भनाइ छ।

आङ्देम्बेले भीमफेदी दुर्घटनाको निष्पक्ष छानबिन गरी वास्तविक कारण पत्ता लगाउन, दोषीलाई कारबाही गर्न र आगामी दिनमा यस्ता दुर्घटना रोक्न ठोस कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन्।

 


प्रतिकृया दिनुहोस्