१३ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सञ्चारगृहमा प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गर्ने कार्य तत्काल रोक्न सरकारसँग माग गरेका छन्।
विभिन्न सञ्चारगृहमा प्रहरी परिचालन गरी पत्रकारलाई नियन्त्रणमा लिने र जनदबाबपछि मात्रै रिहा गर्ने प्रवृत्तिप्रति आपत्ति जनाउँदै थापाले कानुनविपरीत पक्राउ तथा पत्रकारमाथिको ह्यारेसमेन्ट बन्द गर्न सरकारलाई आग्रह गरेका हुन्।
विज्ञप्ति जारी गर्दै थापाले समाचार कक्षमै प्रहरी प्रवेश गराएर पत्रकारलाई पक्राउ गर्ने शैलीले शाहीकालीन निरङ्कुशताको झल्को दिएको उल्लेख गरेका छन्।
विगतमा पनि सत्तामा रहेका व्यक्तिमाथि प्रश्न उठ्दा शक्ति दुरुपयोग गरी सञ्चार क्षेत्रमाथि हस्तक्षेप हुने गरेको स्मरण गराउँदै उनले त्यस्ता प्रवृत्ति दोहोरिनु लोकतन्त्रका लागि चिन्ताजनक भएको बताएका छन्।
थापाले स्वतन्त्र पत्रकारितालाई लोकतन्त्रको आधारस्तम्भ भन्दै पत्रकार वा सञ्चारमाध्यमबाट कुनै त्रुटि भए त्यसको निरूपणका लागि प्रेस काउन्सिललगायतका कानुनी तथा संस्थागत निकाय रहेको बताएका छन्।
ती प्रक्रियालाई बेवास्ता गर्दै सञ्चारगृहमा सोझै प्रहरी हस्तक्षेप गर्नु कानुनको शासनको मर्मविपरीत भएको उनको भनाइ छ।
कांग्रेसले नियन्त्रणमा लिइएका व्यक्तिको संवैधानिक अधिकारको रक्षा गर्न, सञ्चारगृहमा भइरहेको अनावश्यक प्रहरी हस्तक्षेप रोक्न र कानुनी प्रक्रियाबाहिर गरिएका कदम तत्काल सच्याउन सरकारसँग माग गरेको छ।


























