काठमाडौं । समाचार लेखेकै आधारमा पत्रकारलाई नियन्त्रणमा लिने र समाचारमाथि निगरानी गर्ने कार्यप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गम्भीर आपत्ति जनाएको छ।
रास्वपाले सार्वजनिक पदमा रहेका व्यक्तिका गतिविधि र शक्ति दुरुपयोगबारे खोजी गरी नागरिकलाई सुसूचित गराउनु पत्रकारिताको संवैधानिक दायित्व भएको उल्लेख गरेको छ।
समाचार लेखेकै आधारमा पत्रकारलाई नियन्त्रणमा लिनु प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको पार्टीको ठहर छ।
पार्टीले प्रकाशित समाचारका विषयमा कुनै विवाद, गुनासो वा कानुनी प्रश्न उठेमा त्यसको निरूपण स्थापित कानुनी प्रक्रिया र न्यायिक संयन्त्रबाट हुनुपर्ने जनाएको छ।
सञ्चारमाध्यमलाई नियमन गर्ने नाममा पत्रकारमाथि धरपकड गर्नु विधिको शासनको उल्लङ्घन भएको विज्ञप्तिमा उल्लेख छ।
रास्वपाले पक्राउ परेका पत्रकारहरूलाई तत्काल रिहा गर्न तथा उनीहरूमाथि लगाइएका आरोपबारे निष्पक्ष, पारदर्शी र यथार्थपरक छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
साथै, भय, त्रास र अनुचित दबाबबाट मुक्त भएर सत्य र तथ्यमा आधारित पत्रकारिता गर्न सञ्चारकर्मीलाई आह्वान गर्दै प्रेस स्वतन्त्रताको रक्षामा आफ्नो प्रतिबद्धता कायम रहने पार्टीले जनाएको छ।
पार्टीका प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा सञ्चारकर्मीको पेसागत मर्यादा, भौतिक तथा मनोवैज्ञानिक सुरक्षा र पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा रास्वपा सधैँ उभिने उल्लेख छ।

























