काठमाडौं । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढेपछि पर्यटकलाई तीन दिन पदयात्रा नगर्न आग्रह गरिएको छ।
गृह मन्त्रालयअन्तर्गतको अध्यागमन विभागले मंगलबार सूचना जारी गर्दै कात्तिक १२, १३ र १४ गते उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरेको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उक्त अवधिमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेको जनाएको छ।
जोखिमलाई ध्यानमा राख्दै पर्यटकलाई उक्त अवधिभर सुरक्षित स्थानमा रहन आग्रह गरिएको विभागले जनाएको छ।
विभागका अनुसार पदयात्राका क्रममा जोखिमयुक्त क्षेत्रमा पुगिसकेका पर्यटकले पनि सुरक्षित स्थानमा बस्नुपर्नेछ। साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा पदयात्राका लागि अनुमति जारी नगरिने जानकारी दिइएको छ।
विभागले ट्रेकिङ एजेन्सी, पदयात्री, पथप्रदर्शक तथा सम्बन्धित सबै सरोकारवालालाई सूचनाको पालना गर्न र सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका निर्देशक सूर्यप्रसाद चापागाईंले जारी गरेको सूचनामा विपद्को जोखिमलाई मध्यनजर गर्दै सबैलाई सुरक्षित रहन अनुरोध गरिएको छ।































