काठमाडौं । कागेश्वरी मनोहरा नगर अस्पतालले अस्पतालबाट प्रवाह भइरहेका सेवा, निर्माणाधीन संरचना तथा सेवा सुधारका विषयमा नागरिकका सुझाव र गुनासा सुन्न सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने भएको छ।
नगर अस्पतालका कार्यकारी निर्देशक रामप्रसाद पौडेलले दिएको जानकारीअनुसार कार्यक्रम २०८३ कात्तिक १५ गते आइतबार दिउँसो १ बजे कागेश्वरी मनोहरा नगरपालिकाको सभा हलमा सञ्चालन हुनेछ।
अस्पतालमा मोड्युलर अपरेसन थिएटर (Modular Operation Theatre) निर्माण, १०० शय्याको जनरल अस्पताल सञ्चालनका लागि भइरहेका प्रयास तथा अस्पतालको समग्र सेवा प्रवाहका विषयमा नागरिकलाई जानकारी गराउनुका साथै उनीहरूका जिज्ञासा, गुनासा र सुझाव सम्बोधन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको पौडेलले बताए।
निर्देशक पौडेलकाअनुसार अपरेसन थिएटर संचालनका लागि १/२ दिनभित्रै ठेक्का लागेर काम संचालन हुनेछ भने अबको ६ महिनाभित्र अस्पतालमा अपरेसन थिएटर संचालन हुने विश्वास लिइएको छ।
‘जनताको आवाज, पारदर्शिता र उत्तरदायित्वप्रति हाम्रो प्रतिबद्धता’ भन्ने मूल भावनासहित आयोजना हुन लागेको सार्वजनिक सुनुवाइमा जनप्रतिनिधि, यस क्षेत्रका विज्ञ, बुद्धिजीवी, समाजसेवी, सामाजिक संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा सर्वसाधारणलाई आमन्त्रण गरिएको छ।
सार्वजनिक सुनुवाइमार्फत नागरिकका राय, सुझाव र सल्लाह संकलन गरी अस्पतालको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने अपेक्षा गरिएको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए।
अस्पतालले कार्यक्रममा सहभागी भई सेवा सुधार तथा विकासका विषयमा आफ्ना विचार र सुझाव राख्न सबै सरोकारवालालाई आग्रह गरेको छ।
अस्पतालमा दैनिक १ हजारभन्दा बढी बिरामीले सेवा लिने गरेका छन्। अस्पतालले चौबिसै घण्टा आकस्मिकसहित बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म ओपीडी सेवा प्रदान गर्दै आएको छ।
अस्पतालले दैनिक १९ भन्दा बढी प्रकारका बिशेषज्ञ सेवा प्रदान गर्दै आइरहेको छ। अस्पतालमा हाल ३० देखि ३५ शय्या नियमित प्रयोगमा छन्।
अस्पतालबाट दिने बिशेषज्ञसहितका सेवाहरुलाई प्रभावकारी र जनमैत्री बनाउदै गएकाले आम नागरिकको विश्वास जित्न सकेको नगरप्रमुख उपेन्द्र कार्कीले बताए। उनले उच्च गुणस्तरीय यन्त्र उपकरण, औजार, दक्ष तथा अनुभवी बिशेषज्ञ चिकित्सकहरुबाट उच्चस्तरीय स्वास्थ्य सेवा नगर अस्पतालले प्रदान गर्दै आइरहेको बताए।
प्रदेशकै नमुना अस्पतालका रुपमा विकसित हुँदै गरेको अस्पताललाई सय शय्यामा स्तरोन्नतिको प्रक्रिया अघि बढेको प्रमुख कार्कीको भनाई छ। स्तरोन्नति सँगै आधुनिक शल्यक्रिया कक्ष, प्रसुतिगृह, आइसीयु, एनआइसीयु, डाइलाइसिस्, ट्रमा सेन्टर, ल्याव र इमेजिङ सेवा विस्तार गर्ने लक्ष्य लिइएको प्रमुख कार्कीले जानकारी दिए।































