काठमाडौं । शुभदीपावलीको अवसरमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ मा वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ।
प्रतियोगिता कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ र एकीकृत काँडाघारी सेवा समाज (सञ्जाल) को संयुक्त आयोजनामा सञ्चालन हुने भएको हो।
खेलकुदको विकास, स्थानीय प्रतिभाको पहिचान तथा खेलाडीहरूबीच आपसी सद्भाव र स्वस्थ प्रतिस्पर्धाको भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको समाजका महासचिव लीलाधर दाहालले जानकारी दिए।
प्रतियोगितामा सहभागी हुन इच्छुक वडा नं. ९ का योग्य खेलाडीहरूले आगामी कार्तिक १७ गते मंगलबारभित्र नाम दर्ता गराइसक्नुपर्ने बताइएको छ।
प्रतियोगिताको स्वरूप, सहभागिताका मापदण्ड तथा खेल सञ्चालन प्रक्रियाबारे विस्तृत जानकारी दिन कार्तिक १८ गते बुधबार साँझ ६ बजे पत्रकार सम्मेलन आयोजना गरिने आयोजकले जानकारी दिएको छ।
खेलकुदमार्फत स्थानीय प्रतिभाको पहिचान गर्नुका साथै अनुशासन, सहकार्य र सामाजिक एकतालाई प्रवर्द्धन गर्ने लक्ष्य राखिएको आयोजकले बताएको छ।





























