काठमाडौं । दक्षिण अफ्रिकाका अनुभवी तथा आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणमा कर्णाली याक्सबाट खेल्ने भएका छन्।
कर्णाली याक्सले ३७ वर्षीय मिलरलाई टोलीमा अनुबन्ध गरेको औपचारिक घोषणा गरेको छ। विस्फोटक ब्याटिङ र अन्तिम ओभरमा खेलको नतिजा बदल्न सक्ने क्षमताका लागि परिचित मिलरको आगमनले कर्णालीको ब्याटिङ पक्ष थप बलियो हुने अपेक्षा गरिएको छ।
टी–२० क्रिकेटका उत्कृष्ट फिनिसरमध्ये एक मानिने मिलर छक्का प्रहार गर्ने क्षमताका कारण चर्चित छन्। उनले दक्षिण अफ्रिकाका लागि १८० एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ४ हजार ७६२ रन तथा १४० टी–२० अन्तर्राष्ट्रिय खेलमा २ हजार ८०४ रन बनाएका छन्।
सबैखाले टी–२० क्रिकेटमा ५८४ खेल खेलेका मिलरले १२ हजार ४३५ रन बनाउनुका साथै ५६९ छक्का प्रहार गरेका छन्। उनको अनुभव र आक्रामक खेलशैली एनपीएलमा कर्णालीका लागि महत्त्वपूर्ण बन्न सक्नेछ।
मिलरले इन्डियन प्रिमियर लिग (आईपीएल)मा समेत प्रभावशाली प्रदर्शन गरिसकेका छन्। सन् २०२२ मा गुजरात टाइटन्सबाट खेल्दा उनले ४८१ रन बनाएका थिए। सोही सिजन गुजरातले पहिलोपटक आईपीएलको उपाधि जितेको थियो। उनले सन् २०२६ को आईपीएलमा दिल्ली क्यापिटल्सबाट खेलेका थिए।
कर्णाली याक्सले यसअघि पाकिस्तानको टी–२० टोलीका कप्तान साहिबजादा फरहानलाई पनि अनुबन्ध गरिसकेको छ। मिलरको आगमनसँगै तेस्रो संस्करणको एनपीएलमा कर्णालीको टोली थप आकर्षक बनेको छ।































