२५ असोन, काठमाडौं । बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा उद्धारका लागि स्थापना गरिएका सरकारी कोषमा १७ अर्ब ५४ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आइतबारसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका विभिन्न खातामा गरी कुल १७ अर्ब ५४ करोड ४२ लाख ८९ हजार ६७८ रुपैयाँ मौज्दात रहेको छ।
कोषका विभिन्न नौवटा वाणिज्य बैंकमा रहेको नेपाली रुपैयाँतर्फको मौज्दात १२ अर्ब ९५ करोड १६ लाख ३१ हजार २०१ रुपैयाँ पुगेको छ। त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा २ करोड ९७ लाख २९ हजार ९७२ डलर जम्मा भएको छ।
रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि कोषमा आर्थिक सहयोग आउने क्रम जारी रहेको छ। सरकारले यसअघि नै बाढी प्रभावित क्षेत्रका लागि कोषबाट एक अर्ब रुपैयाँ निकासा गरिसकेको छ।































