काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दैछ।
ओमानको अल अमिरातमा हुने खेल नेपाली समयअनुसार बिहान ११स्४५ बजे सुरु हुनेछ।
जारी त्रिकोणात्मक शृंखलामा नेपालले क्यानडा र ओमानसँग दुई–दुई खेल खेल्नेछ। एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन नेपालले बाँकी चार खेलमध्ये कम्तीमा तीन खेल जित्नुपर्नेछ।
ओमानले क्यानडालाई हराएपछि नेपालको शीर्ष चारमा पुग्ने सम्भावना समाप्त भइसकेको छ। अब नेपालका लागि शीर्ष ६ मा रहँदै एकदिवसीय मान्यता सुरक्षित गर्नु मुख्य लक्ष्य बनेको छ।
लिग–२ को अंकतालिकामा नेपाल ३२ खेलबाट २४ अंकसहित सातौँ स्थानमा छ। छैटौँ स्थानको क्यानडाको ३३ खेलबाट २५ अंक छ भने चौथो स्थानमा रहेको ओमानको २९ खेलबाट ३३ अंक छ। अमेरिका भने ४७ अंकसहित लिग–२ को च्याम्पियन बनिसकेको छ।






























