Skip
आज : २०८३ आश्विन २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

परराष्ट्रमन्त्री खनाल स्वदेश फर्किए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, २४ गते


Advertisement

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल फिजी, टुभालु र अस्ट्रेलियाको भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय कार्यक्रममा सहभागी हुन उनी ती देशको भ्रमणमा गएका थिए।

शनिबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप १ करोड ५० लाख अस्ट्रेलियन डलर अनुदान दिने घोषणा गरेको जानकारी दिए।

यससँगै बाढी विपद् प्रतिकार्यका लागि अस्ट्रेलियाले घोषणा गरेको कुल सहायता २ करोड ६० लाख अस्ट्रेलियन डलर पुगेको छ।

फिजी र टुभालुमा आयोजित ‘प्रि–कोप लिडर्स इभेन्ट’मा उनले हिमनदी पग्लिने र समुद्री सतह बढ्ने समस्या आपसमा जोडिएकाले हिमालदेखि समुद्रसम्मका राष्ट्रबीच सहकार्य आवश्यक रहेको बताएका थिए।

कोप–३१ का लागि नेपालको प्राथमिकता प्रस्तुत गर्दै उनले विश्वव्यापी तापक्रम वृद्धिलाई १।५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य, ऋणको भार नथपिने अनुदानमा आधारित जलवायु वित्त, हानि तथा नोक्सानी कोषको प्रभावकारी परिचालन र ‘सगरमाथादेखि समुद्रसम्म’ साझेदारीमा जोड दिएका थिए।

अस्ट्रेलियाका विदेशमन्त्री पेन्नी वोङसँगको भेटमा जलवायु सहकार्य, पूर्वसूचना प्रणालीको आधुनिकीकरण तथा जलवायु अनुकूलित पूर्वाधार निर्माणबारे छलफल भएको थियो।

त्यस्तै, न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्ससँग बाढी तथा डढेलो व्यवस्थापन र पुनर्निर्माणका अनुभव आदानप्रदान गर्ने विषयमा कुराकानी भएको मन्त्री खनालले बताए।

यस वर्ष नोभेम्बरमा टर्कीएको अन्टाल्यामा कोप–३१ आयोजना हुँदै छ।

 


प्रतिकृया दिनुहोस्