काठमाडौं । कागेश्वरी मनोहरा नगर अस्पताललाई १०० शय्याको अस्पतालका रूपमा स्तरोन्नति गर्ने अभियानसँगै अस्पतालमा रक्तसञ्चार सेवा (ब्लड बैंक) स्थापना गर्ने प्रक्रिया अघि बढाइएको छ।
नगर अस्पतालमा आवश्यक रगतको सहज उपलब्धता सुनिश्चित गर्ने उद्देश्यले रक्तसञ्चार सेवा स्थापना गर्न नेपाल रेडक्रस सोसाइटी, नगर अस्पताल र कागेश्वरी मनोहरा नगरपालिकाबीच आवश्यक छलफल तथा तयारीलाई तीव्रता दिइएको हो।
यसैक्रममा नगर प्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटी, नगर अस्पताल तथा नगरपालिकाका प्रतिनिधिबीच शुक्रबार रक्तसञ्चार सेवा स्थापनासम्बन्धी महत्वपूर्ण बैठक सम्पन्न भएको छ।
बैठकमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा रक्तसञ्चार सेवा स्थापना तथा सञ्चालन गर्ने, आवश्यक प्राविधिक पूर्वाधार र आधुनिक उपकरणको व्यवस्थापन, प्रविधिको प्रयोग, अस्पतालको व्यवस्थापकीय जिम्मेवारी तथा रक्तदान र रक्त संकलन अभियानलाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल भएको नगर अस्पतालले जनाएको छ।
रक्तसञ्चार सेवाका लागि आवश्यक डिजाइन तथा लेआउटसमेत अन्तिम रूप दिइसकिएको छ। अब सेवा स्थापनाका लागि आवश्यक टेन्डर प्रक्रिया अघि बढाउने तयारी भइरहेको छ।
नगर अस्पतालमा ब्लड बैंक सञ्चालनमा आएपछि आकस्मिक उपचार, शल्यक्रिया, प्रसूति तथा अन्य जटिल स्वास्थ्य उपचारका क्रममा आवश्यक पर्ने रगतको व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ।
नगर प्रमुख उपेन्द्र कार्कीले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा आफ्नै नगरमा उपलब्ध गराउने लक्ष्यअनुसार नगर अस्पतालको पूर्वाधार र सेवा विस्तारलाई प्राथमिकताका साथ अघि बढाइएको बताए।
“१०० शय्याको अस्पतालका रूपमा स्तरोन्नति गर्ने यात्रासँगै आवश्यक स्वास्थ्य सेवाहरू क्रमशः थप गर्दै जाने हाम्रो लक्ष्य हो। रक्तसञ्चार सेवा स्थापना भएपछि नागरिकले उपचारका क्रममा रगत खोज्न अन्यत्र धाउनुपर्ने बाध्यता धेरै हदसम्म कम हुनेछ,” नगर प्रमुख कार्कीले भने।
उनले रक्तसञ्चार सेवा केवल अस्पतालको एउटा थप सेवा नभई आपत्कालीन अवस्थामा जीवन बचाउन प्रत्यक्ष सहयोग गर्ने महत्वपूर्ण स्वास्थ्य पूर्वाधार भएको बताए। नगर अस्पताललाई आधुनिक, सुविधासम्पन्न र नागरिकमैत्री स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने अभियान निरन्तर अघि बढिरहेको उनको भनाइ छ।
नगर अस्पतालमा १०० शय्याको स्वीकृति प्राप्त भएसँगै अस्पतालको सेवा तथा भौतिक पूर्वाधार विस्तारका काम अघि बढिरहेका छन्।
































