१४ असोज, काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरक्षेत्रका बासिन्दालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ ।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, काठमाडौँले कोरियाली उम हङ गिल ह्युमन फाउन्डेसनको सहकार्यमा विदुर नगरपालिका–७ अक्करेस्थित तुप्चे ग्रामीण सामुदायिक स्वास्थ्य इकाइमा स्थानीय बासिन्दालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको हो।
विदुर नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा आयोजित शिविरमा स्वास्थ्य परीक्षण तथा परामर्शका साथै निःशुल्क औषधि वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख रामराजा भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार शिविरमा बाढीबाट घरबास गुमाएर अस्थायी संरचनामा बसोबास गर्दै आएका १५३ जना प्रभावितले स्वास्थ्य सेवा लिनुभएको छ ।
ग्राण्डी अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रा। डा। पदमराज पन्तको नेतृत्वमा रहेको टोलीले स्त्री तथा प्रसूति सेवा प्रदान गरेको थियो । अस्पतालका चिकित्सकसहितको टोलीले बालरोग, नाक, कान तथा घाँटी, हाडजोर्नी र जनरल फिजिसियन सेवा पनि प्रदान गरेको थियो ।
विदुर नगरपालिकासँगको समन्वयमा सञ्चालित शिविरमा स्वास्थ्य परीक्षण गराएका बिरामीलाई चिकित्सकको सिफारिसअनुसार आवश्यक औषधि उम हङ गिल ह्युमन फाउन्डेसनले निःशुल्क उपलब्ध गराएको थियो ।
भौगोलिक अवस्था र विपद्का कारण स्वास्थ्य सेवाको पहुँचमा कठिनाइ भोगिरहेका समुदायलाई लक्षित गरी आयोजना गरिएको शिविरबाट प्रभावित स्थानीय बासिन्दालाई स्वास्थ्य सेवा लिन सहज भएको विदुर नगरपालिका–७ का वडाध्यक्ष रविन्द्र नेपालले बताउनुभयो ।































