१३ असाेज, काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते हुने भएको छ।
कांग्रेसले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा आयोजना हुनेछ।
पार्टीका वडा, गाउँपालिका र नगरपालिका अधिवेशन सम्पन्न भइसकेका छन् भने प्रदेश सभा क्षेत्रीय तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन जारी छन्।
भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया भने अझै जारी रहेको कांग्रेसले जनाएको छ।
यही परिस्थितिलाई मध्यनजर गर्दै पनि निर्धारित मितिमै महाधिवेशन उद्घाटन समारोह गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा असोज १८ गते दिउँसो २ बजे खुलामञ्चमा उद्घाटन हुने स्पष्ट गरिएको छ।

























