काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गत हुने निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दिनुपर्ने शुल्क सार्वजनिक गरेको छ।
शेरबहादुर देउवा पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियाअन्तर्गत तयार गरिएको ‘नेपाली कांग्रेस निर्वाचन निर्देशिका, २०८३’ मा वडा तहदेखि केन्द्रीय कार्यसमितिसम्मका पदका लागि छुट्टाछुट्टै शुल्क निर्धारण गरिएको हो।
निर्देशिकाअनुसार केन्द्रीय सभापति पदमा उम्मेदवारी दिन ३० हजार रुपैयाँ शुल्क तोकिएको छ। उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार तथा केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
प्रदेश कार्यसमितिको सभापतिका लागि १० हजार, उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि ६ हजार तथा सदस्यका लागि ३ हजार रुपैयाँ तोकिएको छ।
जिल्ला सभापतिका लागि ५ हजार, उपसभापति तथा सचिवका लागि ३ हजार ५ सय, सहसचिवका लागि ३ हजार र सदस्यका लागि १ हजार ५ सय रुपैयाँ शुल्क तोकिएको छ।
स्थानीय तहमा गाउँपालिका सभापतिका लागि १ हजार, नगरपालिका सभापतिका लागि २ हजार तथा उपमहानगरपालिका र महानगरपालिका सभापतिका लागि २ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
वडा सभापतिका लागि २५० रुपैयाँ र वडा सदस्यका लागि ५० रुपैयाँ शुल्क तोकिएको छ। यस्तै प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सभापतिका लागि २ हजार ५ सय र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको सभापतिका लागि ३ हजार ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
निर्देशिकाअनुसार प्रदेशसभा क्षेत्रीय प्रतिनिधिका लागि ५००, प्रदेश महाधिवेशन प्रतिनिधिका लागि १ हजार, केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि २ हजार ५ सय तथा महासमिति सदस्यका लागि ३ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ।
देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारीसहित विभिन्न जिल्लामा निर्वाचन संयोजकसमेत तोकेर प्रक्रिया अघि बढाएको छ।

























