Skip

Hamro Sanchar

कोसी प्रदेशमा डेंगीको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ५ गते


Advertisement

५ असोज, झापा । कोसी प्रदेशमा डेंगी संक्रमणको दर बढ्दै गएको छ । झापा जिल्ला डेंगीको सबैभन्दा उच्च जोखिममा देखिएको छ ।

कोसी प्रदेशको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत स्मृती लुइटेलका अनुसार, सन् २०२६ को सेप्टेम्बर १९ सम्मको तथ्यांकअनुसार, प्रदेशमा ७९३ जनामा डेंगी संक्रमण पुष्टि भइसकेको छ । डेंगीको संक्रमण प्रदेशका १३ जिल्लामा फैलिएको छ ।

उनका अनुसार, झापामा मात्रै हालसम्म २२८ जनामा संक्रमण पुष्टि भइसकेको छ । दोस्रो धेरै संक्रमित भएको जिल्ला सुनसरी हो । जहाँ २०३ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

निर्देशनालयका अनुसार, ओखलढुंगामा १२२ जना र खोटाङमा ८२ जनामा संक्रमण देखिएको छ । संखुवासभामा १८, पाँचथरमा ४४, उदयपुरमा ३४, भोजपुरमा ३१, धनकुटामा ४, मोरङमा २०, सोलुखुम्बुमा ३, तेह्रथुममा ३ र ताप्लेजुङमा १ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा विभिन्न जिल्लामा डेंगी संक्रमणका ५१ वटा सम्भावित र दुई वटा शंकास्पद बिरामी अस्पतालमा रहेको उनले जानकारी दिइन् । संक्रमणको बढ्दो जोखिमलाई मध्यनजर गर्दै लामखुट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने लगायतका अभियान सञ्चालन आवश्यक रहेको उनले बताइन् ।


प्रतिकृया दिनुहोस्