१८ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी प्रिमियर कपमा लगातार दोस्रो जित दर्ता गरेको छ।
बिहीबार भएको समूह चरणको दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई ६ विकेटले पराजित गरेको हो।
लगातार दोस्रो जितसँगै नेपाल ४ अंक जोडेर तालिकाको शीर्षस्थानमा उक्लेको छ। समूह चरणको पहिलो खेलमा नेपालले बहराइनलाई सात विकेटले हराएको थियो।
मलेसियाले दिएको १०४ रनको सामान्य लक्ष्य नेपालले २१।४ ओभरमा चार विकेटको क्षतिमा भेटटयो। नेपालका लागि ओपनर अर्जुन कुमाल ४५ रनमा अविजित रहे। उनले ६८ बलमा ४ चौका प्रहार गरे।
त्यस्तै, दीपेन्द्रसिंह ऐरी १२ रनमा नटआउट रहे। उनले ११ बलमा २ चौका हाने। इसान पाण्डेले २० र रोहित पौडेलले १० रन थपे।
अर्का ओपनर आशिफ शेख शून्य रनमा नै आउट भए। देव खनाल दुई रनमा क्याच आउट भए।
त्यसअघि मलेसियाको वांगीस्थित वाइएसडी–युकेएम क्रिकेट ओभलमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली ३२।३ ओभरमा १०३ रनमा अलआउट भयो। मलेसियालाई कम स्कोरमा रोक्न करण केसीले चार विकेट लिए। उनले ७।३ ओभरमा दुई मेडन राख्दै २३ रन खर्चे।
यस्तै, ललित राजवंशीले ६ ओभरमा एक मेडन राख्दै १९ रन दिएर दुई विकेट लिए। हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान एक विकेट आफ्नो नाममा गरे।
मलेसियाका कप्तान सयद अजिजले बनाएको ३० रन नै घरेलु टोलीका लागि सर्वाधिक रह्यो। अकिल वाहिदले २४, विरनदीप सिंहले १४ र मुहमद स्हादातले १३ रन बनाए।
समूह चरणको तेस्रो खेलमा नेपालले आइतबार साउदी अरबसँग खेल्नेछ।






























