काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका र चाँगुनारायण फाउण्डेशनबीच स्थानीय युवालाई लक्षित गरी व्यवसायिक सीपमूलक तालिम तथा अन-द-जव ट्रेनिङ (OJT) सञ्चालन गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौता भएको छ।
सम्झौताअनुसार कागेश्वरी मनोहरा नगरपालिकाले विभिन्न व्यवसायिक क्षेत्रमा प्रारम्भिक सीपमूलक तालिम लिएका तथा लिन इच्छुक १०० जना प्रशिक्षार्थीलाई सम्बन्धित क्षेत्रका रोजगारदातासँगको सहकार्यमा थप व्यवसायिक सीपमूलक तालिम र OJT उपलब्ध गराउने भएको छ।
सम्झौताको मुख्य उद्देश्य स्थानीय श्रम बजारको आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादन गर्दै रोजगारी तथा स्वरोजगारीका अवसर विस्तार गर्नु रहेको छ। साथै, प्रारम्भिक सीपमूलक तालिमबाट प्राप्त सैद्धान्तिक ज्ञानलाई व्यवहारिक तथा व्यवसायिक अनुभवसँग जोडेर रोजगारयोग्य जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको छ।
सम्झौतामा हस्पिटालिटी, इसिडी/मोन्टेसरी, आइटी, रिटेल चेन, कृषि प्रविधि तथा एप्स, सवारीसाधन तथा अटोमोबाइल, विद्युतीय उपकरण तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी गार्ड लगायतका विभिन्न क्षेत्रमा तालिम तथा OJT सञ्चालन गर्ने उल्लेख छ।
नगरपालिकाले आफ्नै स्रोतबाट सञ्चालन गरेका वा आगामी दिनमा सञ्चालन गर्ने प्रारम्भिक सीपमूलक तालिममा उपयुक्त प्रशिक्षार्थी छनोट गरी कार्यक्रमसँग जोड्नेछ। त्यस्तै, फाउण्डेशनले सम्बन्धित क्षेत्रका रोजगारदातासँग समन्वय गरी प्रशिक्षार्थीलाई कार्यस्थलमा आधारित गुणस्तरीय OJT उपलब्ध गराउने सम्झौतामा उल्लेख छ।
सम्झौता पत्रमा नगरप्रमुख उपेन्द्र कार्की र संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन्।
यस कार्यक्रममार्फत तालिम प्राप्त युवालाई व्यवहारिक कार्यअनुभव दिलाउँदै रोजगार प्राप्ति तथा स्वरोजगारका लागि सक्षम बनाउने अपेक्षा गरिएको छ। सम्झौताले स्थानीय तह, तालिम प्रदायक र रोजगारदाताबीचको सहकार्यलाई बलियो बनाउँदै सीप र रोजगारीबीचको दूरी घटाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
































