Skip

Hamro Sanchar

बाढीपीडितका लागि नेपाल पब्लिक क्याम्पस संघको ५१ हजार रुपैयाँ सहयोग

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १५ गते


Advertisement

काठमाडौं । नेपाल पब्लिक क्याम्पस संघले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ५१ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।

संघको केन्द्रीय कार्यसमितिले बाढीबाट रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेको छ।

संघका अध्यक्ष शत्रुघ्न प्रसाद गुप्ताद्वारा जारी विज्ञप्तिमा बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता नागरिकको सकुशल उद्धारको कामना गरिएको छ।

संघले आफ्नो केन्द्रीय सचिवालयको निर्णयअनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार रुपैयाँ सहयोग रकम दाखिला गरेको जनाएको छ।

साथै, देशभरका सामुदायिक क्याम्पसहरूलाई आफ्नो संस्थागत क्षमता र स्रोतसाधनअनुसार आर्थिक तथा आवश्यक मानवीय र भौतिक सहयोग उपलब्ध गराउन आग्रह गरेको छ।

भोटेकोशी बाढीबाट नुवाकोटस्थित सदस्य क्याम्पस त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पस पूर्ण रूपमा क्षतिग्रस्त भएको तथा अन्य शैक्षिक संस्थाहरू पनि प्रभावित भएको संघले जनाएको छ।

प्रभावित व्यक्ति, परिवार तथा शैक्षिक संस्थाहरूको राहत र पुनःस्थापनामा सहयोग गर्न संघले सबैलाई अपिल गरेको छ।

बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत, उपचार तथा पुनःस्थापनामा सक्रिय सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, सामाजिक संघसंस्था, स्वयंसेवी तथा सहयोगी हातहरूप्रति संघले आभारसमेत व्यक्त गरेको छ।

 

 


प्रतिकृया दिनुहोस्