
काठमाडौं । नेपालले सीमापार विद्युत् व्यापारमा ऐतिहासिक सफलता हासिल गरेको छ।
नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२र०८३ को क्रस-बोर्डर विद्युत् व्यापारसम्बन्धी विवरणअनुसार भारत र बङ्गलादेशतर्फ विद्युत् निर्यातबाट मुलुकले २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी गरेको छ।
यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा ६७.९६ प्रतिशतले बढी हो। तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१र०८२ मा नेपालले २ अर्ब ३८ करोड २९ लाख युनिट विद्युत् निर्यात गरी १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको थियो।
समीक्षा वर्ष २०८२र०८३ मा भने निर्यात परिमाण ६२.८९ प्रतिशतले बढेर ३ अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट पुगेको छ।
भारतको ऊर्जा बजार (आईईएक्स–डीएएम, आईईएक्स–आरटीएम, एनभीभीएन) तथा बङ्गलादेशसँगको त्रिपक्षीय व्यापारमार्फत औसत ७ रुपैयाँ ५६ पैसाको दरमा विद्युत् बिक्री हुँदा नेपालले अहिलेसम्मकै उच्च निर्यात आम्दानी हासिल गरेको हो। विद्युत् निर्यातमा उल्लेखनीय वृद्धि भएसँगै विदेशबाट हुने आयातमा भने उल्लेख्य कमी आएको छ।
अघिल्लो आर्थिक वर्षमा १ अर्ब ६८ करोड ४ लाख युनिट विद्युत् आयात गर्दा १२ अर्ब ९२ करोड ३० लाख रुपैयाँ खर्च भएको थियो।
तर समीक्षा वर्षमा आयात परिमाण ३१.५७ प्रतिशतले घटेर १ अर्ब १४ करोड ९८ लाख युनिटमा सीमित रह्यो। यससँगै आयात खर्च पनि १८.२९ प्रतिशतले घटेर १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँमा झरेको छ।
निर्यातबाट प्राप्त २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँबाट आयात खर्च कटाउँदा आर्थिक वर्ष २०८२र०८३ मा नेपालले विद्युत् व्यापारबाट १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो बचत ४ अर्ब ५३ करोड ५७ लाख रुपैयाँ रहेको थियो।
यस आधारमा एक वर्षमै विद्युत् व्यापारबाट हुने खुद बचत करिब चार गुणाले बढ्दै ३१३ प्रतिशतको वृद्धि भएको देखिन्छ। ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार जलविद्युत् उत्पादन क्षमतामा भएको विस्तार, सीमापार प्रसारण पूर्वाधारको सुदृढीकरण, भारतसँगको विद्युत् व्यापारको विस्तार तथा बङ्गलादेशसम्म निर्यातको सुरुवातले नेपालको ऊर्जा व्यापारलाई नयाँ उचाइमा पुर्याएको हो।
पछिल्ला वर्षहरूमा उत्पादन बढ्दै जाँदा वर्षायाममा बढी हुने विद्युत् छिमेकी मुलुकमा निर्यात गर्ने र आवश्यकताअनुसार सुख्खायाममा सीमित मात्रामा आयात गर्ने रणनीतिले नेपालको ऊर्जा व्यापार सन्तुलनलाई उल्लेखनीय रूपमा सुधार गरेको छ ।






























