
काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा कागेश्वरी मनोहरा नगरपालिका–७, हरहरमहादेवस्थित शिवम मार्गी एकीकृत महिला समाजलाई कम्पोस्ट बिन वितरण गरिएको छ।
शनिबार आयोजित एक कार्यक्रममा नगरप्रमुख उपेन्द्र कार्की तथा कृषि विकास बैंकका प्रतिनिधिले संयुक्त रूपमा कम्पोस्ट बिन हस्तान्तरण गरेका हुन्। सामग्री नगरपालिका र कृषि विकास बैंकको सहकार्यमा उपलब्ध गराइएको हो।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख कार्कीले महिला समाजले समुदायस्तरमा सञ्चालन गर्दै आएका गतिविधिको प्रशंसा गर्दै यसलाई नगरपालिकाकै उत्कृष्ट महिला समाजमध्ये एक रहेको बताए। उनले स्थानीय सरकारको आधार टोल सुधार समिति नै भएकाले टोल–टोलको विकासबाट वडा र समग्र नगरको विकास सम्भव हुने धारणा राखे।
समाजले स्थापना कालदेखि सञ्चालन गर्दै आएका रचनात्मक तथा सामाजिक गतिविधिको प्रशंसा गर्दै नगरप्रमुख कार्कीले आगामी कार्यक्रमहरूमा पनि नगरपालिकाको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा वडा नं. ७ का कार्यवाहक अध्यक्ष भक्त थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रमको समापन समाजकी अध्यक्ष गीता अर्यालले गरेकी थिइन्।
महिला समाजले हालसम्म निःशुल्क आँखा परीक्षण, निःशुल्क स्त्रीरोग विशेषज्ञ परामर्श, सरसफाइ अभियान, वृक्षारोपण तथा योग साधना केन्द्र स्थापना जस्ता सामाजिक तथा जनहितका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
समाजअन्तर्गत रहेको टोलमा एक सयभन्दा बढी घरपरिवार आबद्ध रहेका छन्।
































