
२२ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नयाँ सरकार गठन भएको सय दिन नपुग्दै देशको राजनीति पुरानै दन्तबझान र अस्थिरताको खेलमा अल्झिने संकेत देखिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्।
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत संसद अवरुद्ध हुने र आधारभूत जनताका एजेण्डा अलपत्र पर्ने अवस्था आउनु विडम्वनापूर्ण रहेको बताएका छन्।
डा. भट्टराईले अब कसैलाई पनि पुरानै अस्थिरताको खेल खेल्ने र देशलाई गरीबी तथा वेरोजगारीको दुष्चक्रमा फसाइराख्ने छुट नभएको स्पष्ट पारेका छन्।
उनले सरकारका गल्तीकमजोरीको आलोचना गर्दै उसलाई पूरा कार्यकाल काम गर्न दिनुपर्नेमा जोड दिएका छन्।
यदि सरकारले काम गर्न नसके अर्को निर्वाचनमा जनताले दण्डित गर्ने लोकतान्त्रिक बाटो रहेको उनको भनाइ छ।
उनले नेपाली राजनीतिमा पुस्तान्तरण भैसकेको र अब फेरि पुरानैतिर फर्कने सम्भावना नरहेको उल्लेख गर्दै नयाँको विकल्प झन् नयाँ मात्र हुनसक्छु भन्ने धारणा राखेका छन्।
यस सन्दर्भमा उनले बालेन शाह, रवि लामिछाने र नयाँ शक्ति जस्ता नयाँ राजनीतिक शक्तिहरूलाई संकेत गरेका छन्।































