
२१ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय विभेद तथा छुवाछुतजस्ता अमानवीय व्यवहारको अन्त्य कानुनी व्यवस्थाबाट मात्र सम्भव नहुने बताएका छन् ।
राष्ट्रपति पौडेलले यसका लागि समाजका सबै तहरवर्गमा चेतना, सहिष्णुता र पारस्परिक सम्मानको भावना विकास हुनु अपरिहार्य भएकोमा जोड दिएका छन् ।
जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्दै दिवसले मानव मर्यादा, समानता र सामाजिक न्यायको संरक्षण तथा प्रवर्द्धन गर्दै विभेदहीन, समावेशी र सभ्य समाज निर्माणप्रति सबै थप प्रतिबद्ध बन्नुपर्ने बताएका छन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरिएको बताएका छन्।
उनले विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्द्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक तथा सबै प्रकारका विभेदको अन्त्य गर्न आवश्यक रहेको बताएका छन्।
आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी तथा सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प संविधानमै गरिएको उल्लेख गरेका छन् ।
दिवसले विविधता भित्रको एकतालाई सुदृढ गर्दै समतामूलक, सभ्य र समावेशी समाज निर्माणमा सबै नेपाली एकजुट हुनुपर्ने आवश्यकता पुनः स्मरण गराएको उनको भनाइ छ ।






























