
१९ जेठ, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको छ।
प्रधानमन्त्री वालेन्द्र साहले संसद्मा दिएको सीमासम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर राजनीतिक सरगर्मी तीव्र बनेका बेला यो बैठक बस्न लागेको हो।
प्रधानमन्त्री साहले आइतबार संसद्मा नेपाल–भारत सीमासम्बन्धी विवादित भनाइ राखेका थिए। उक्त धारणाप्रति प्रमुख प्रतिपक्षी लगायतका विपक्षी दलहरूले गम्भीर आपत्ति जनाउँदै प्रधानमन्त्रीले माफी नमागेसम्म संसद् चल्न नदिने निष्कर्ष निकालेका छन्।
यसअघि सोमबार पनि संसद् बैठक सुरु भए तापनि विपक्षीको अवरोधका कारण स्थगित भएको थियो। विपक्षी दलहरूले आजको बैठकमा पनि अवरोध कायम राख्दै विरोधलाई तीव्र पार्ने र संसद् तताउने पूर्ण तयारी गरेका छन्।
विपक्षीको सम्भावित अवरोध र तनावका बीच संसद् सचिवालयले आजको बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। आजको बैठकको सुरुमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।
त्यसैगरी अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३र०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ।
यो प्रस्ताव प्रस्तुत भएपछि बैठकमा आर्थिक वर्ष २०८३र०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल अगाडि बढ्ने कार्यसूची रहेको छ।






























