Skip

Hamro Sanchar

एमालेको आगामी निर्वाचनल लक्षित पार्टी जागरण अभियान सुरु, केन्द्रीय सदस्य पालिकातिर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १६ गते


१६ जेठ, काठमाडौँ । नेकपा एमालेले स्थानीय तह र प्रदेशको आसन्न निर्वाचनलाई लक्षित गर्दै पार्टी जागरण अभियान सुरु गरेको घोषणा गरेको छ ।

यो अभियान सफल पार्न केन्द्रीय पदाधिकारी बाहेकका सबै केन्द्रीय सदस्यहरुलाई पालिका केन्द्रित जिम्मेवारी तोकिएको छ ।

जेठ ४ बाट सुरु भएर ८, ९ र १० गते भएको केन्द्रीय सचिवालयको बैठकका निर्णयलाई मातहतका कमिटीमा प्रेषित गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन ९अपानि० २ जारी गर्दै यो अभियान घोषणा गरेका हुन् ।

गणतन्त्र दिवसका दिन जेठ १५ गते जारी गरिएको अपानिमा नेताहरुको जिम्मेवारीको विस्तृत खाका उल्लेख गरिएको छ ।

पार्टीका केन्द्रीय सदस्यहरुलाई जनसंगठन इन्चार्ज तथा विभागका प्रमुख तोकिए पनि उनीहरुलाई आफ्नो पालिकाको समेत जिम्मेवारी तोकिएको छ ।

केन्द्रीय सदस्यहरु मात्र पालिका केन्द्रित अभियानमा अपर्याप्त रहेकोले केन्द्रीय केन्द्रीय निकायका सदस्य तथा अगुवा कार्यकर्तालाई समेत यो जिम्मेवारी तोकिएको छ ।

एमालेले गरेको कार्यविभाजन अनुसार अध्यक्षले समग्र कामको नेतृत्व र महासचिवले पार्टीको संगठनात्मक कामको संयोजन र केन्द्रीय कार्यालय प्रमुखको जिम्मेवारी तोकिएको छ । उपाध्यक्ष र उपमहासचिवहरुलाई पार्टीका विभाग तथा फाँटहरुको संयोजनको जिम्मेवारी दिइएको छ । नौ मध्ये छ जना सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।

कोशीका मूख्यमन्त्री एवम् सचिव हिक्मत कार्कीलाई विपद् व्यवस्थापन तथा स्वयम्सेवा विभागको प्रमुख, पद्मा अर्याललाई संसदीय मामिला प्रमुख र भानुभक्त ढकाललाई संगठन विभाग प्रमुख तोकिएको छ । अन्य सचिवहरु छविलाल विश्वकर्मालाई इन्चार्ज लुम्बिनी, खगराज अधिकारीलाई गण्डकी इन्चार्ज, यमलाल कँडेललाई कर्णाली इन्चार्ज, शेरधन राईलाई कोशी इन्चार्ज, राजन भट्टराईलाई राजधानी विशेष प्रदेश इन्चार्ज र महेश बस्नेतलाई बागमती प्रदेश इन्चार्ज तोकिएको छ ।

खासगरी आफूले प्रतिनिधित्व गर्ने जिल्लाका पालिकामा पार्टी जागरण अभियान सञ्चालन गर्ने जिम्मेवारी दिएर केन्द्रीय सदस्यहरुलाई भूगोलमा केन्द्रित गर्न खोजेको एमालेले जनाएको छ । ‘जिल्ला इन्चार्ज तोकिएका नेताहरुलाई समेत पालिकाको जागरण अभियानमा सहभागी गराइएको छ,’ एक सचिवले भने ‘अन्यथा एक जना केन्द्रीय सदस्यलाई बढीमा दुईवटा पालिकाको जिम्मेवारी दिँदै जागरण अभियानमा केन्द्रित हुन भनिएको छ ।’

निर्वाचन पछि सुस्ताएका कमिटी र पार्टी गतिविधिलाई जागरण अभियानले गतिदिने एमालेको अपेक्षा छ । कार्यविभाजन अनुसार एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्य र प्रेस चौतारी नेपालको इन्चार्जमा रामकुमारी झाँक्रीलाई तोकिएको छ ।


प्रतिकृया दिनुहोस्