
१६ जेठ, काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बालेन सरकारले ल्याएको बजेटलाई सुनिने बजेट र देखिने बजेटभन्दै आलोचना गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बजेट भाषणमा विकास र समृद्धिुका ठूला कुरा गरिए पनि वास्तविक विनियोजनमा भने त्यसको ठीक विपरीत देखिएको दाबी गरेका छन्।
बजेट भाषणमा विकास आयोजनाहरूलाई विगतभन्दा कम प्राथमिकतामा राखिएको पोखरेलले बताए ।
साधारण खर्च कटौतीको कुरा गरिए पनि यथार्थमा त्यसमा वृद्धि गरिएको उनको भनाइ छ।
जेन्जी विद्रोहुको जगमा बनेको भनिएको सरकारले युवा तथा खेलकुद मन्त्रालयको बजेटसमेत कटौती गरेकोमा उनले आश्चर्य व्यक्त गरेका छन्।
विदेशिएका नेपालीलाई स्वदेशमै रोजगारी दिने वाचा गर्ने सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको बजेट पनि घटाएकोमा पोखरेलले प्रश्न उठाएका छन्।
कृषि र वन मन्त्रालयको बजेट कटौतीले सरकारको प्राथमिकता उत्पादन वृद्धि र आत्मनिर्भरता नभई रेमिटेन्स आधारित अर्थतन्त्र नै हो भन्ने सन्देश दिएको उनको विश्लेषण छ।
उनले बजेट भाषणमा नारा र सपना धेरै सुनिए पनि बजेटले उत्पादन, रोजगारी र युवालाई प्रोत्साहन भन्दा परनिर्भरतालाई बढी प्राथमिकता दिएको उल्लेख गरेका छन्।
करका दरको निर्धारण र राजस्वको लक्ष्यका बीचमा कुनै संगति र सन्तुलन नदेखिएको र बजेटले यथार्थतालाई स्वीकार गर्न नसकेको उनको ठहर छ।
विशेषगरी, भदौ २३ र २४ को विध्वंसका कारणले उत्पन्न असुरक्षा र भयलाई सम्बोधन गर्नुपर्ने वेलामा शान्तिसुरक्षाको प्रत्याभूति दिने गृहमन्त्रालयको बजेट कटौती गरिएकोमा पोखरेलले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
शान्तिसुरक्षाको अभावमा न लगानी प्रवर्धन हुने नत रोजगारी सिर्जना नै हुने उनको तर्क छ। महासचिव पोखरेलले बजेट भाषणमा सुनिएजस्तै यथार्थतामा पनि त्यस्तै आएको भए कति जाति हुन्थ्यो भन्दै व्यंग्य गरेका छन्।






























