
१५ जेठ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्य सञ्चालनको प्रक्रियामा विद्यमान परम्परागत परिपाटी र स्वेच्छाचारिताको अन्त्य गर्नु आजको आवश्यकता रहेको बताएका छन् ।
आज गणतन्त्र दिवसका अवसरमा शुभकामना दिँदै उनले संविधानको कार्यान्वयनमा देखिएका कमजोरीलाई सच्याउँदै राज्य सञ्चालनको प्रक्रियामा विद्यमान परम्परागत परिपाटी र स्वेच्छाचारिताको अन्त्य गर्नु आजको आवश्यकता रहेको बताएका हुन् ।
उनले भनेका छन्, “जनताको अधिकार, लोकतान्त्रिक मूल्य र समावेशितालाई अझ सुदृढ बनाउँदै अघि बढ्नु नै साँचो अर्थमा गणतन्त्रप्रतिको सम्मान हो ।”
देशलाई राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धितर्फ अघि बढाउन सबै राजनीतिक शक्ति र आमनागरिकबीच एकता आवश्यक रहेको प्रचण्डले औँल्याएका छन् ।
सामाजिक न्यायसहितको समृद्धिमार्फत समाजवादी नेपाल निर्माण गर्नु साझा राष्ट्रिय संकल्प रहेको उनको भनाइ छ । “हामीबीच राजनीतिक मतभेद हुन सक्छन्, संसदीय परिपाटीमा संख्यात्मक अंकगणित फरक हुनसक्छ, तर राष्ट्रिय सरोकारका मुद्दामा संवाद र सहकार्य हाम्रो संस्कार बन्नुपर्छ,” उनले भनेका छन्, “संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा हामी सबैको पहिलो जिम्मेवारी हो । परिवर्तनका उपलब्धिलाई कमजोर बनाउने कुनै पनि प्रयासप्रति हामी सचेत रहनुपर्छ ।”
नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धिको संरक्षण गर्दै समृद्ध, न्यायपूर्ण र आत्मनिर्भर नेपाल निर्माणमा सबै एकजुट हुन उनले आग्रह गरेका छन् ।





























