Skip

Hamro Sanchar

अब पठाओबाटै हेलिकोप्टर बुक गर्न मिल्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १४ गते


१४ जेड, काठमाडौं । अबदेखि पठाओबाटै पनि हेलिकोप्टर बुक गर्न मिल्ने भएको छ ।

राइड सेयरिङ हुँदै सुपर एप बनिरहेको पठाओ नेपालले मोबाइल एपबाटै हेलिकोप्टर बुक गर्न मिल्ने सेवा विस्तार गरेको हो ।

मोबिलिटी प्लेटफर्म पठाओले सिम्रिक एयरलाइन्ससँगको सहकार्यमा हेलिकोप्टर बुकिङ सेवा ‘पठाओ हेली’को सुरुआत गरेको छ ।

राइड सेयरिङबाट सुरु भएको पठाओ नेपालको यात्रा पार्सल, फुड डेलिभरी र होम सर्भिस हुँदै अहिले पठाओ हेलीसम्म विस्तार भएको कम्पनीले जनाएको छ ।

अब यात्रुले पठाओ एप अथवा पठाओ हेलीको बेवसाइट पठाओ हेली डट कममार्फत मूल्य निर्धारणसहित सहज रूपमा हेली बुक गर्न सक्ने छन् ।

कम्पनीका अनुसार मुक्तिनाथ, गोसाइकुण्ड, सगरमाथा आधार शिविर र अन्नपूर्ण आधार शिविरलगायत धार्मिक, प्राकृतिक र पर्यटकीय गन्तव्यका लागि हेलिकोप्टर बुक गर्न सकिनेछ ।

एउटा हेलिकोप्टरमा एकपटकमा चारदेखि पाँच जनासम्मले यात्रा गर्न सक्नेछन् । तीर्थयात्रा, नव विवाहित दम्पतीका लागि रमणीय यात्रा, पारिवारिक भ्रमण तथा साथीभाइसँग मिलेर छोटो समयमा विभिन्न पर्यटकीय गन्तव्य घुम्नका लागि पठाओ हेली उपयुक्त हुने कम्पनीले जनाएको छ ।

“नेपालको डिजिटल इकोनोमीलाई १० गुणाले बढाउनु हाम्रो लक्ष्य हो, मोबिलिटी, पार्सल डेलिभरी, फुड डेलिभरी र इ–कमर्सलाई एकै प्लेटफर्ममा जोड्दै हामी अघि बढिरहेका छौँ,” पठाओ नेपालका प्रबन्ध निर्देशक यशु थकालीले भने ।

नेपाल सरकारले घोषणा गरेको नेपाल पर्यटन वर्ष, २०८५ लाई समेत मध्यनजर गरी पठाओ नेपालले यस्तो सेवा सञ्चालन गरेको कम्पनीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्