
काठमाडौं, जेष्ठ १३- शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डको सदस्य पदमा डा. शर्मिला पोखरेललाई मनोनित गरेको छ।
काठमाडौंको पुतलीसडक, रामशाहपथमा रहेको पद्मोदय माध्यामिक विद्यालयका प्रधानाध्यापक समेत रहनु भएकी डा. पोखरेललाई बुधबार मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार बोर्ड सदस्यमा मनोनयन गरिएको हो।
माध्यमिक शिक्षा परीक्षा सञ्चालन, समन्वय तथा व्यवस्थापनलाई अझ प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउने उद्देश्यका साथ सामुदायिक विद्यालयका अनुभवी प्रधानाध्यापकहरूमध्येबाट उहाँलाई चयन गरिएको मन्त्रालयले जनाएको छ।
शिक्षा क्षेत्रमा लामो समयदेखि समर्पित भएर योगदान दिँदै आएकी डा. पोखरेल शैक्षिक नेतृत्व, अनुशासन र व्यवस्थापन क्षमताका कारण परिचित व्यक्तित्व मानिन्छिन्। उहाँको नियुक्तिसँगै राष्ट्रिय परीक्षा प्रणालीलाई अझ पारदर्शी, विश्वसनीय र विद्यार्थीमैत्री बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
शिक्षा क्षेत्रका सरोकारवालाले पोखरेलको नियुक्तिलाई सकारात्मक रूपमा लिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। यो मनोनयनले सामुदायिक विद्यालयका शिक्षक तथा शिक्षिकाको मनोबल थप उच्च बनाउने विश्वास समेत लिइएको छ।




























