
११ जेठ, काठमाडौं । ललितपुर जिल्ला अदालतले मितेरी सहकारीको रकम हिनामिना प्रकरणमा कांग्रेस नेता धनराज गुरुङकी पूर्वपत्नी ज्योती गुरुङका नाममा २१ दिने सूचना जारी गरेको छ।
अदालतले आज सूचना जारी गर्दै ज्योती गुरुङलाई २१ दिनभित्र अदालतमा उपस्थित हुन भनेको हो।
गुरुङमाथि ललितपुरको मितेरी सहकारीको साढे १२ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ।
उनलाई ललितपुर जिल्ला अदालतले २१ दिनभित्र सबुतप्रमाणसहित प्रतिउत्तर पेश गर्न भनेको हो।
मितेरी सहकारी ठगीमा धनराज गुरुङकी पूर्वपत्नी ज्योतिकै मुख्य भूमिका
अदालतले जारी गरेको सूचनामा गुरुङको तीनपुस्ते विवरण उल्लेख छ। जसमा उनका पति धनराज गुरुङ नै लेखिएको छ।
‘उप्रान्त बोध बिक्रम थापाले तपाईँका नाउँमा लेनदेन मुद्दा दायर गरेकोमा यस अदालतबाट तपाईँको नाउँमा जारी भएको म्याद बदर भई यही जेठ ५ मा भएको आदेशानुसार मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दाफा १०५ को उपदाफा ९२२० बमोजिम तपाईँका नाउँमा यो म्याद सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ, ‘यो म्याद सूचना पत्रिकामा प्रकाशित भएका मितिले बाटोको म्यादबाहेक २१ दिनभित्र आफैँ वा कानुन बमोजिमको प्रतिनिधिमार्फत् आफ्नो भएको सबुद प्रमाणसहित प्रतिउत्तर पत्र लिई यस अदालतमा उपस्थित हुनुहोला। म्यादभित्र उपस्थित नभइ म्याद गुजारी बसे मुद्दा कानुन बमोजिम हुनेछ। पछि तपाईँको कुनै उजुर लाग्ने छैन।






























