
१० जेठ, काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री उमाशंकर अरगरिया एमाले परित्याग गरेका छन्।
चुनावमा पार्टीका उम्मेदवारविरुद्ध क्रियाकलाप गर्नेहरूलाई दण्डित गर्नुको सट्टा पार्टीले पुरस्कृत गरेको भन्दै उनले साधारण सदस्य नरहने गरी आफ्ना फेस्बुक मार्फत राजीनामा घोषणा गरेका हुन्।
आफूसँगै एमालेमा प्रवेश गरेका कार्याकर्ताको अहिलेसम्म पार्टी मूल्यांकन नगरिएको सो विषयमा पटकपटक आवाज उठाउँदा कुनै सुनुवाइ नभएको उनले बताए।
पटकपटक जिल्ला नेतृत्वबाट आफू अपमानित भएको पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरी घोषणा गरिएको राजीनामा पत्रमा उल्लेख गरिएको छ। उनले लेखेका छन्, ुलगनशील तथा इमान्दार कार्यकर्ताहरू अपमानित हुने र पार्टीविरुद्ध लाग्नेहरू नै सम्मानित हुने प्रवृत्तिले म आजित भएको छु।ु
यस विषयमा पार्टीको केन्द्रीय तहमा जानकारी गराउँदा पनि कुनै पहल नहुँदा आफू बाध्य भएर पार्टी परित्याग गरेको उनले बताए। उनले एमाले परित्याग गरे पनि अहिले कुनै पार्टीमा नजाने स्वतन्त्र भएर जनताको बीचमा रहने जिकिर गरे।
उनी ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा उपेन्द्र यादवको नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपालको तर्फबाट धनुषा(२ बाट निर्वाचित भएका थिए।
त्यसपछि उपेन्द्र नेतृत्वको पार्टी परित्याग गरी ०७९ सालको निर्वाचन अघि नेकपामा एमाले प्रवेश गरेका थिए। उक्त निर्वाचनमा नेपाली कांग्रेसका रामकृष्ण यादवसँग १५७ मतको झिनो मतले पराजित भएका थिए।
अघिल्लो निर्वाचनमा पनि उनी एमालेको तर्फबाट उम्मेदवार बनेका थिए। तर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राम बिनोद यादवसँग पराजित भएका थिए।






























