
७ जेठ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले श्रम सस्कृती पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङको पछिल्लो व्यवहारप्रति कडा टिप्पणी गरेकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत एक स्टाटस लेख्दै सांसद तामाङले साम्पाङको निरन्तरको विरोध र सदनप्रतिको दृष्टिकोणमाथि प्रश्न उठाएकी हुन् ।
आफू कुनै समय साम्पाङको ठुलो समर्थक रहेको स्मरण गर्दै उनले अहिलेको उनको व्यवहारले अचम्मित तुल्याएको बताएकी छन्
चिनी पनि धेरै खायो भने तितो हुन्छ भनेको जस्तै म तपाईँको ठुलो समर्थक थिएँ, तर अहिले सदनमा हजुरले जति बेला पनि विरोध गरिरहेको देख्दा अचम्मित छु, उनले लेखेकी छन् ।
सांसद तामाङले सरकार बनेको छोटो समयमै चमत्कारको अपेक्षा गर्नु व्यावहारिक नभएको तर्क गरेकी छन् ।
उनले प्रश्न गरेकी छन्, के लाग्छ हजुरलाई यो सरकार जन्म भएको आज ४० वर्ष लाग्यो कि ५० वर्ष ? एक महिनामा तपाईँलाई आकाशबाट तारा झार्नुपर्ने हो कि जुन ? सदनभित्र साम्पाङले प्रधानमन्त्रीलाई मात्र खोज्ने गरेको र अन्य सांसदहरूको अस्तित्वलाई बेवास्ता गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी छन् ।
सदनभित्र तपाईँ प्रधानमन्त्रीलाई मात्र खोजिरहनु हुन्छ, अनि हामी सांसदहरूको चाहिँ कुनै अस्तित्व छैन तपाईँको लागिरुू उनले सोधेकी छन् ।
घन्टौँसम्म उभिएर बोल्न नदिएको गुनासो गर्ने प्रवृत्तिमाथि प्रहार गर्दै उनले विकासका लागि काम र धैर्यता आवश्यक रहेको उल्लेख गरेकी छन् ।
उनले भनेकी छन्, बोलेर मात्र यो देश विकास हुने भए आज यो देश १०० वर्ष अगाडि नै सिङ्गापुर र युरोप जस्तो विकसित भइसक्थ्यो !
सांसद साम्पाङले प्रतिनिधि सभाको बैठकमा निरन्तर बिरोध गर्दै आएका छन् । सोहि बिषयलाइ लिएर तामाङको यस्तो प्रतिक्रिया आएको हो ।














