
२२ बैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ले शिक्षालय र कर्मचारीतन्त्रमा दशकौँदेखि जरा गाडेको दलगत राजनीतिक प्रभावविरुद्ध कडा अभिव्यक्ति दिएका छन्।
सामाजिक सञ्जालमार्फत उनले विद्यार्थीले राजनीति सिक्दा नेताको भीडबाट होइन, गुरुबाट सिक्नुपर्ने स्पष्ट सन्देश दिएका छन्।
उनका अनुसार शिक्षालय र कर्मचारी संगठनहरू धेरै ठाउँमा दलका “स्लिपर सेल” जस्तै बनेका छन्, जहाँ योग्यता र सेवाभन्दा पहुँच र झण्डाको प्रभाव बढेको छ। यसले प्रणालीप्रति जनविश्वास कमजोर बनाएको उनको दाबी छ।
बालेनले अब शिक्षालयमा दलको झण्डा निषेध र कर्मचारीतन्त्रमा दलगत संगठन निषेध गर्ने नीति आवश्यक भएको उल्लेख गरेका छन्। उनका अनुसार यो कदम अधिकार खोस्ने नभई पेशागत स्वतन्त्रता र प्रणालीगत शुद्धता मजबुत बनाउने प्रयास हो।
उनले स्पष्ट पारेका छन् कि नियुक्ति, सरुवा र बढुवामा अब दलगत निकटता होइन, विधि, क्षमता र दक्षता मात्र आधार बन्नुपर्छ।
यो अभियान कुनै पार्टीविरुद्ध नभई “प्रणाली बचाउने, भविष्य जोगाउने र संस्थागत मार्ग बलियो बनाउने” प्रयास भएको उनको भनाइ छ। उनले अन्त्यमा जनताको साथ र विश्वास आवश्यक रहेको उल्लेख गर्दै परिवर्तन भाषणले होइन, निर्णयले आउने बताएका छन्।















