
दोलखा । बागमती प्रदेश सरकारले दोलखाको मेलुङ–बुद्धचोक सडक खण्ड निर्माणका लागि करिब ३६ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको छ। प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले बहुवर्षीय आयोजना अन्तर्गत उक्त सडकको स्रोत सुनिश्चित गरेको जनाएको छ।
मन्त्रालयका अनुसार सितली–मेलुङ–बुद्धचोक सडक खण्डका लागि कुल ३५ करोड ९८ लाख ९३ हजार रुपैयाँ बराबरको लागत अनुमान गरिएको छ। सोही अनुसार बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत गर्दै बजेट सुनिश्चित गरिएको हो।
उक्त सडक वर्षौंदेखि निर्माण कार्य सुरु भए पनि विभिन्न कारणले सम्पन्न हुन सकेको थिएन। अब भने प्रदेश सरकारले बहुवर्षीय रूपमा बजेट सुनिश्चित गरेपछि निर्माण कार्यले गति लिने अपेक्षा गरिएको छ।
चालु आर्थिक वर्षका लागि यस सडक आयोजना अन्तर्गत ९ करोड रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्रालयले जनाएको छ। आगामी वर्षहरूमा थप बजेट व्यवस्था गर्दै निर्धारित समयभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
यसैबीच, मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार तामाङले सडक निर्माणका लागि बजेट सुनिश्चित भएकोमा खुशी व्यक्त गरेका छन्। उनले पालिकाको निरन्तर पहल र समन्वयका कारण प्रदेश सरकारबाट बजेट सुनिश्चित हुन सकेको बताए। अध्यक्ष तामाङले अब सडक निर्माणले गति लिने विश्वास व्यक्त गर्दै यसले स्थानीयवासीको दैनिकी सहज बनाउने र आर्थिक गतिविधिमा समेत टेवा पुग्ने उल्लेख गरे।
सडक स्तरोन्नतिका लागि बजेट स्रोत सुनिश्चित भएसँगै स्थानीय स्तरमा पनि उत्साह बढेको छ। स्थानीय बासिन्दाले लामो समयदेखि सडकको दुरावस्थाका कारण आवतजावतमा समस्या भोग्दै आएका थिए। वर्षायाममा सडक हिलाम्मे हुने, सवारी साधन सञ्चालनमा कठिनाइ हुने तथा आकस्मिक सेवामा समेत असर पर्ने गरेको गुनासो थियो। यसले स्थानीय जनजीवन सहज बनाउनुका साथै कृषि उत्पादन बजारसम्म पुर्याउन समेत सहयोग पुग्ने विश्वास गरिएको छ।
यस्तै प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले मेलुङ–बुद्धचोक सडकहित चार वटा सडक तथा पुल निर्माणका लागि स्रोत सुनिश्चित गरेको छ।
मकवानपुरको चौराह खोला पुल र रसुवाको चिलिमे खोला पुल आयोजनाका लागि पनि स्रोत सुनिश्चित गरिएको छ। यी आयोजनाको कुल लागत १ अर्ब ३० करोड ९४ लाख १८ हजार बराबर रहेको छ । यी सडक आयोजना ४ वर्षसम्म निर्माण सम्पन्न हुनेछन्।














