Skip

Hamro Sanchar

विष्णु पौडेल भन्छन् : नेतृत्वले सफलता र उपलब्धिको जस मात्रै लिने होइन, पराजय र क्षतिको पनि जिम्मेवारी लिनुपर्छ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ९ गते


९ बैशाख, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेतृत्वले सफलता र उपलब्धिको जस लिएजसरी नै पराजय र क्षतिको पनि जिम्मेवारी लिनुपर्ने बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टीको ७७औं स्थापना दिवसका अवसरमा उनले समयको निर्देश अनुरूप समग्र पार्टीलाई पुनर्गठन गर्न र नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले अगाडी बढाउन जरूरी रहेकोमा पनि जोड दिएका छन्। ‘अब हामीले अविलम्ब समग्र नेपाली कम्युनिस्ट आन्दोलनको, विशेष गरी बिगतको एक दशकको र पछिल्लो पटक सरकारको नेतृत्व गर्दादेखि आम निर्वाचन सम्पन्न हुँदासम्मको वस्तुनिष्ठ र यथार्थपरक समिक्षा गर्न जरूरी छ,’ समाजिक सञ्जालमा पौडेलले लेखेका छन्, ‘नीति, नेतृत्व, संगठन र कार्यशैलीमा रहेका हाम्रा गल्ति, कमजोरीहरूलाई उद्घाटित गर्न, स्वीकार गर्न र सच्याउन जरूरी छ। हामीले सफलता र उपलब्धिको जस लिएजसरी नै पराजय र क्षतिको पनि जिम्मेवारी लिन जरूरी छ। समयको निर्देश अनुरूप समग्र पार्टीलाई पुनर्गठन गर्न र नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले अगाडी बढाउन जरूरी छ।’

‘आज नेपाली कम्युनिस्ट आन्दोलनका उपलब्धि र कमजोरीहरूको समिक्षा गर्न, तीनबाट शिक्षा लिन र अगाडी बढ्न संकल्प गर्ने दिन,’ पौडेलले भनेका छन्, ‘नेकपाको स्थापना सबै प्रकारका निरङ्कुश शासनको अन्त्य, लोकतान्त्रिक शासन ब्यवस्थाको स्थापना र समृद्धि, सामाजिक न्याय र समाजवादको उद्देश्य प्राप्तीका लागि भएको थियो। पार्टी स्थापना देखि आजसम्म आईपुग्दा नेपाली कम्युनिस्ट आन्दोलनले असाधारण उपलब्धि हासिल गरेको छ र कहालीलाग्दो क्षति पनि बेहोरेको छ।’

संविधान सभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रमा आधारित संविधान घोषणा भएपश्चातको एक दशक कम्युनिस्ट पार्टीले झण्डै दुइतिहाइको सरकार गठन गर्न सफल भएको चर्चा गर्दै उनले यो एक दशक नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासकै सबैभन्दा ठूलो असफलता र पराजयको दशक बन्न पुगेको पनि स्मरण गरेका छन्।

‘सरकारको नेतृत्व गरेको हाम्रो पार्टी २०८२ भदौ २४ सम्म आइपुग्दा नराम्रोसँग सडकमा पछारिएको छ,’ उनले भनेका छन्, ‘फागुन २१ गते सम्पन्न निर्वाचनमा नेपाली मतदाताको अत्यधिक ठूलो हिस्साले हाम्रो पार्टीलाई अस्वीकार गरेका छन्। हामी प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको १६५ मध्ये ९ स्थान र समानुपातिक समेत कूल २७५ मध्ये २५ स्थानमा खुम्चिन बाध्य भएका छौँ।’

उनले एमालेलाई लोकप्रिय, गतिशील र राष्ट्रलाई नेतृत्व गर्ने निर्णायक शक्तिमा बदल्ने सङ्कल्प गर्न पनि आग्रह गरेका छन् ।

 

प्रतिकृया दिनुहोस्