Skip

Hamro Sanchar

प्रधानमन्त्री बालेन र रबिबीचको एकतामा दरार आउन सक्छ : अमेरिकी प्रतिवेद

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १ गते


काठमाडौं । अमेरिकाले प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन० नेतृत्वको सरकारसमक्ष आर्थिक र भूराजनीतिक चुनौती रहेका बताएको छ ।

अमेरिकी प्रतिवेदनले गत फागुन २१ मा सम्पन्न निर्वाचनबाट अत्यधिक बहुमतसहित सत्तामा आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वप्रति अवसर र चुनौती दुवै रहेको जनाएको छ।

अमेरिकी संसद्मा पेस गरिएको ‘कंग्रेसनल रिसर्च सर्भिस’को ‘पार्लियामेन्ट्री इलेक्सन इन नेपाल’ शीर्षकको प्रतिवेदनमा उक्त निर्वाचनले मतदाताको परिवर्तनप्रतिको चाहनालाई संकेत गरेको उल्लेख छ ।

प्रतिवेदनमा प्रधानमन्त्री शाह र रास्वपाका लागि यो जनादेश अवसरसँगै चुनौतीपूर्ण रहेको पनि औँल्याइएको छ ।

शाहले स्थापनाविरोधी र सुधारकका रूपमा लोकप्रियता कमाए पनि काठमाडौं महानगरपलिकाको मेयरका रूपमा उनको कार्यकाललाई कतिपय विश्लेषकले मिश्रित रूपमा मूल्यांकन गरेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

रास्वपा नेतृत्वको सरकारले विभिन्न आर्थिक र भूराजनीतिक चुनौतीको सामना गरिरहेको छ ।

उच्च युवा बेरोजगारी, पर्सियन खाडीका मुलुकबाट आप्रवासी कामदारको फिर्ती, इरानविरुद्ध अमेरिका र इजरायलको सैन्य कारबाहीका कारण रेमिट्यान्स प्रवाहमा आएको अवरोध तथा ऊर्जा अभावजस्ता चुनौती प्रतिवेदनमा प्रमुख रूपमा उल्लेख गरिएका छन् ।

प्रतिवेदनमा भनिएको छ, “नयाँ प्रधानमन्त्री बालेन्द्र शाहले शासन सञ्चालनको स्पष्ट खाका प्रस्तुत नगरेको भन्ने केहीको तर्क छ । शाह परम्परागत शैलीभन्दा सामाजिक सञ्जाल, विशेषगरी फेसबुकमार्फत बढी संवाद गर्छन् ।”

त्यस्तै, केही विश्लेषकले प्रधानमन्त्री र रास्वपा नेतृत्वबीच सम्भावित तनावको आकलन गरेको पनि प्रतिवेदनमा उल्लेख छ । “एक विश्लेषकले रास्वपालाई सुशासन सुधारमा केन्द्रित प्राविधिक दृष्टिकोणअन्तर्गत अहिलेका दलसँग असन्तुष्ट समूहहरूलाई एकीकृत गर्ने छाता संगठनका रूपमा वर्णन गरेका छन्,” प्रतिवेदनमा भनिएको छ ।


प्रतिकृया दिनुहोस्