
१ बैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले आफ्नो सम्पत्ति विवरण छिट्टै सार्वजनिक गर्ने बताएका छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उनले आफ्नो नाममा जग्गाजमिन केही नभएको र सामान्य बैंक ब्यालेन्स तथा सुन मात्र रहेको प्रारम्भिक जानकारी दिएका हुन्।
जनस्तरबाट सम्पत्ति विवरण सार्वजनिक गर्न माग भएपछि त्यसको जवाफ दिने क्रममा साम्पाङले आफ्नो नाममा अचल सम्पत्ति शून्य रहेको दाबी गरेका हुन् ।
‘मेरो सम्पत्ति विवरण चाहिएको रहेछ, केही दिनपछि दिउँला,’ उनले भनेका छन्, ‘मेरो नाममा केही छैन । वैदेशिक रोजगारीबाट जोडेको ४–५ तोला सुन होला । बैंक ब्यालेन्स २–४ लाख होला, म सार्वजनिक गर्नेछु।’
पैतृक सम्पत्तिका रूपमा खोटाङमा केही खेतबारी मात्र रहेको र त्यो पनि आमाको नाममा रहेको उनले खुलाएका छन् । खोटाङको केपिलासगढी गाउँपालिका–२ चोखाने गाउँमा भिरालो पाखा, खरबारी, बाँस र उत्तिसघारीसहितको केही खेतबारी आमाको नाममा रहेको उनको भनाइ छ ।















