
काठमाडौं, माघ २७ – कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १, गागलमा निर्माण सम्पन्न भएको श्री पेमा होईसाललिङ गुम्बा बुधवार (२०८२ माघ २८) भव्य रूपमा उद्घाटन हुने भएको छ। उद्घाटन कार्यक्रम धर्मगुरु छ्योकि ङिमा रिन्पोछेको आतिथ्यमा सम्पन्न हुनेछ। कार्यक्रममा गुम्बा भवनको उद्घाटनसँगै मूर्ति प्राण प्रतिष्ठा (राभ्ने पूजा) समेत सम्पन्न हुने जनाइएको छ।
कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापा लगायत अन्य स्थानीय जनप्रतिनिधिहरूको उपस्थिती रहने छ। स्थानीय विद्यालय श्री बाल उद्धार माध्यमिक विद्यालयका विद्यार्थीहरू समेत कार्यक्रममा सहभागि हुनेछन्।
गुम्बा निर्माणको इतिहास
करीब ३५० स्थानीय तामाङ बौद्धमार्गीको बसोबास रहेको यस क्षेत्रमा, स्थानीय धर्मप्रेमीहरूले चन्दा संकलन गरी सार्वजनिक तथा निजी जग्गामा गुम्बा निर्माण सुरु गरेका थिए।
२०६४ साल पुस ३ गते तत्कालीन गुम्बा व्यवस्था तथा विकास समितिबाट औपचारिक अनुमति लिइएको थियो।
तत्कालीन प्रमुख मान बहादुर लामाको परिकल्पना अनुसार स्थानीय वासीहरूले निर्माण कार्य सुरु गरेका थिए।
२०७२ सालको महाभूकम्पपछि पुनः जागरुकता बढेपछि डुल्कु लामा बज्युको अध्यक्षतामा नयाँ गुम्बा विकास समिति गठन भयो।
निर्माण र संरचना
भवन, शौचालय, बगैचा, भान्साघर र तीन ६ फिट अग्ला मूर्ति निर्माण कार्य पूरा भएको छ।
निर्माण र सरसामग्रीको कुल लागत १ करोड ६१ लाख रुपैयाँ पुगेको छ, जसमा संघीय तथा स्थानीय सरकारको योगदान १ करोड १० लाख र धर्मप्रेमीहरूको चन्दा ५१ लाख रुपैयाँ रहेको छ।
गुम्बा विकास समितिले २०८२/१०/०८ गते विधिवत दर्ता गरिसकेको छ।
गुम्बा व्यवस्थापन समिति पदाधिकारीहरू
अध्यक्ष: टुल्कु लामा बज्यु
उपाध्यक्ष: कुबिर मान थिङ
- महासचिव: बहादुर लामा
सचिव: बागबिर लामा
कोषाध्यक्ष: शान्ति तामाङ
सदस्य: वीर बहादुर लामा, मेघ बहादुर लामा, धन बहादुर लामा, कुमार लामा, नविना तामाङ, राम बहादुर तामाङ, सर्मिला लामा, ठुलि माया तामाङ
भविष्य योजना र तयारी
स्थानीय महिला समूहको नेतृत्वमा गुम्बा सरसफाइ सम्पन्न भइसकेको छ। आगामी दिनहरूमा कम्पाउण्ड वाल निर्माण, बगैचा निर्माण, नाली व्यवस्थापन र ग्राउण्ड व्यवस्थापन जस्ता कामहरू क्रमिक रूपमा सम्पन्न गरिने योजना बनाइएको छ।
समितिका अध्यक्ष टुल्कु लामा बज्यु र उपाध्यक्ष कुबिर मान थिङले संघीय तथा स्थानीय सरकार र धर्मप्रेमी चन्दादाताहरूप्रति धन्यवाद व्यक्त गर्दै, स्थानीय समुदाय र धर्मप्रेमीहरूलाई कार्यक्रममा उपस्थित भएर आशीर्वाद ग्रहण गर्न आमन्त्रित गरेका छन्।
स्थानीयवासी र धर्मप्रेमीहरूबीच उद्घाटन कार्यक्रमप्रति ठूलो उत्साह देखिएको छ। आयोजकहरूले गुरुबाट उपस्थित महानुभावहरूलाई अभिषेक (वाङ) प्रदान गर्ने तयारी समेत गरिसकेका छन्।
यसरी गुम्बा उद्घाटन कार्यक्रम स्थानीय समुदायको धार्मिक र सामाजिक जीवनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।



















