Skip

Hamro Sanchar

काठमाडौँमा प्रहरीले गोली प्रहार गरेर पक्राउ गर्‍यो १० ‘लुटेरा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, १५ गते


काठमाडौं । प्रहरीले गोली प्रहार गरेर काठमाडौँको मुलपानीबाट १० जना ‘लुटेरा’लाई पक्राउ गरेको छ। प्रहरीको गोली लागेर एकजना लुटेरा घाइते भएका प्रहरी परिसर काठमाडौँले जनाएको छ।

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले दिएको जानकारी अनुसार घटना गएराति १२ १५ बजेको हो।

‘मध्यराति मूलपानीमा हाम्रो टोली चेक प्वाइन्ट खडा गरेर बसेको थियो,’ प्रवक्ता भट्टराईले नेपालखबरसँग भने, ‘मोटरसाइकलमा आएका उनीहरुले चेकप्वाइन्टमा ट्युटीमा रहेका प्रहरीलाई नै मोटरसाइकलले ठक्कर दिएर भाग्न खोजेपछि गोली बाध्य भएर चलाउनु परेको हो।’

प्रहरीको गोली लागेर एकजना घाइते भएका छन्। त्यसक्रममा प्रहरीले उनीहसहित थप १० जनालाई पक्राउ गरेको हो।

‘मोटरसाइकलको ठक्करबाट ड्युटीमा खटिएका प्रहरीका सहायक हबलदार मोहन भट्ट र प्रहरी जवान पुष्पराज भण्डारी घाइते हुनु भएको छ,’ भट्टराईले भने। उनीहरुको अवस्था पनि सामान्य छ।

पक्राउ परेकाहरु काठमाडौँमा भएका विभिन्न लुटपाटका घटनामा संलग्नहरुको समूह भएको दाबी प्रहरीले गरेको छ।

‘विभिन्न समयमा काठमाडौँमा लुटपाट गर्ने समूहको खोजतलासमा हामी थियौँ,’ एसपी भट्टराईले भने, ‘सोही क्रममा गएराति मूलपानीबाट १० जना पक्राउ परेका हुन्। थप लुटेराको खोजी र यस घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान जारी नै छ।’

प्रहरीले पक्राउ परेकाहरुको नाम भने सार्वजनिक गरेको छैन। उनीहरु सबै हाल प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्। गोली लाग्ने युवकको अवस्था पनि सामान्य रहेको प्रहरीले जनाएको छ।

घटनाका सम्बन्धमा विस्तृत विवरण पछि सार्वजनिक गर्ने एसपी भट्टराईले बताए ।


प्रतिकृया दिनुहोस्