
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रतिस्पर्धा गर्न नपाउने भएका छन् ।
आइतबार सर्वोच्च अदालतले उनको माग अस्वीकार गरेको हो । चौधरीले आफ्नो उमेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध यही माघ ९ गते सर्वोच्चमा रिट दायर गरेका थिए।
उनको रिटमा न्यायाधीश बालकृष्ण ढकालको इजलासले कारण देखाऊ आदेश मात्र जारी गरेको छ । योसँगै उनको उमेदवारी कायम नहुने भएको हो ।
सर्वोच्चले मुद्दाको अर्को सुनुवाइ यही माघ १५ गतेलाई तोकेको छ । उनको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
आयोगले कसुर र कैदको अभिलेख कायमै हुने भन्दै उमेदवारी खारेज गर्ने निर्णय गरेपछि चौधरी सर्वोच्च गएका थिए । उनले कैलाली क्षेत्र नम्बर–१ बाट उमेदवारी दिएका थिए ।

















