Skip

Hamro Sanchar

कागेश्वरी मनोहरा नगरपालिका र काठमाडौं प्रहरीबीच सिसिटिभी जडान गर्न सम्झौता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ७ गते


काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र कागेश्वरी मनोहरा नगरपालिकाबीच नगरपालिका क्षेत्रभित्र शहरी सुव्यवस्थापनका लागि सिसिटिभि क्यामेरा जडान, संचालन, मर्मत संभार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएको छ ।

नगरपालिकाको कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमबीच काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको तर्फबाट कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक इश्वर कार्की र कागेश्वरी मनोहरा नगरपालिकाको तर्फबाट नगरप्रमुख उपेन्द्र कार्कीले उक्त समझदारी-पत्रमा हस्ताक्षर गर्नुका साथै समझदारी-पत्र आदान प्रदान समेत गरे ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले सिसिटिभि जडानले घटित अपराधहरूको छिटो छरितो तवरबाट अनुसन्धान गर्न, चोरी, लुटपाट, सवारी दर्घुटना, छुटेका सामानको पहिचान लगायत विभिन्न अपराधिक घटनाको सफल अनुसन्धान गर्न तथा प्रहरीले प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउन टेवा पुग्ने बताए । आगामी दिनमा शान्ति सुरक्षा, विकासका कार्यक्रम, अपराध नियन्त्रण र अनुसन्धानमा नगरपालिकासँग थप सहकार्य गर्दै जाने उनले उल्लेख गरे ।

यस्तै कार्यक्रममा नगरप्रमुख कार्कीले सिसिटिभि जडानले विभिन्न विकृतिका कार्यहरूको पहिचान गर्न एवम् नागरिकलाई थप सुरक्षाको प्रत्याभूति गराउन सहयोग पुग्ने बताए । सिसिटिभी जडान पश्चात त्यसको उचित रेखदेख र मर्मत सम्भार पनि हुनेपर्नेमा उनले जोड दिँदै आगामी दिनमा नेपाल प्रहरीसँग थप सहकार्य र समन्वय गर्दै अगाडि बढ्ने बताए ।

यस्तै नगरप्रमुख कार्कीले नगर क्षेत्रभित्र शान्ति सुरक्षा, अमन चयन, पारदर्शी शहरी व्यवस्थापन, अपराध नियन्त्रण, दुर्घटना न्यूनिकरण, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण न्यूनिकरण, सार्वजनिक सम्पत्ति संरक्षण, नदी किनारा तथा साँस्कृतिक एवम् सम्पदा क्षेत्रहरूको संरक्षण, सार्वजनिक यातायात व्यवस्थापन, रात्रीकालिन आवागमन व्यवस्थापन, ट्राफिक जाम तथा अन्य अवाञ्छित गतिविधि नियन्त्रण तथा समग्र शहरी सुशासनसँग सम्बन्धित विषयहरूमा सहकार्य गरी सिसिटिभि जडानको लागि सम्झौता भएको जानकारी दिए ।

सम्झौताअनुसार, बजेट व्यवस्था नगरपालिकाले गर्नेछ भने खरिद प्रक्रिया ई–बिडमार्फत पारदर्शी रूपमा सञ्चालन गरिनेछ । CCTV क्यामेरा लागि आवश्यक स्पेसिफिकेशन र प्राविधिक मापदण्ड अनुसार नै उपकरण खरिद तथा जडान गरिने व्यवस्था गरिएको छ । साथै, नेटवर्क र निगरानी प्रणालीको व्यवस्थापनका लागि समन्वय तथा संचालन समिति समेत गठन गरिएको छ ।

समितिमा नगर प्रमुख, प्रहरी कार्यालयका वरिष्ठ अधिकारी, सूचना प्रविधि शाखाका प्रमुख लगायत सदस्य रहेका छन् । समितिले CCTV प्रणाली जडान, परीक्षण, सञ्चालन र मर्मतसम्भारको नियमित अनुगमन गर्नेछ ।

सम्झौतामा सडक लाइट व्यवस्थापन र निगरानी प्रणालीका लागि आवश्यक अन्य प्राविधिक सहयोग पनि समावेश गरिएको छ । समझदारीले स्थानीय क्षेत्रमा अत्याधुनिक सुरक्षा प्रविधिको प्रयोगद्वारा समग्र शान्ति व्यवस्था सुदृढ गर्ने विश्वास व्यक्त गरिएको छ ।

सम्झौता कार्यक्रममा नगर उप-प्रमुख शान्ता थापा, जनप्रतिनिधि, कर्मचारी र प्रहरी कार्यालयका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

यस्ता छन् सम्झौताको मुख्य बुँदाहरु-

-उदेश्य र आवश्यकता

नगर क्षेत्रमा सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना न्युनिकरण तथा सार्वजनिक शान्ति कायम राख्ने उद्देश्यले CCTV क्यामरा जडान तथा निगरानी प्रणाली लागू गर्ने।

विशेष गरी सार्वजनिक सुरक्षा, यातायात व्यवस्थापन, प्रहरीले आवश्यक पर्ने सूचनाको लागि उपयुक्त स्थानहरुमा क्यामरा राखिने।

-प्रविधि र सुविधा

CCTV प्रणालीमा Automatic Number Plate Recognition (ANPR) र Face Recognition सहित उन्नत प्रविधि प्रयोग गरिने।

क्यामराहरुबाट विवरण सिधै प्रहरी तथा सम्बन्धित निकायलाई उपलब्ध गराइने व्यवस्था।

ट्राफिक नियम उलंघन, चोरी–चोरी, सार्वजनिक स्थानमा असामाजिक गतिविधि जस्तो अवस्थामा तुरुन्त प्रतिक्रिया सुनिश्चित गरिने।

-बजेट तथा खरिद प्रक्रिया

सम्झौताअनुसार CCTV प्रणालीको लागि आवश्यक बजेट नगरपालिकाले व्यवस्था गर्नेछ।

खरीद प्रक्रिया ई–बिड (E–Bid) मार्फत पारदर्शी रूपमा सञ्चालन गरिने व्यवस्था राखिएको छ।

CCTV लगायत सम्बन्धित उपकरणहरुको लागि नियत मापदण्ड र स्पेसिफिकेशन अनुसार खरिद तथा स्थापना गरिने।

-साइट छनोट र प्रबन्ध

CCTV क्यामराहरु भीडभाड, संवेदनशील तथा सुरक्षाका दृष्टिले महत्वपूर्ण स्थानहरुमा राखिने।

नगरपालिकाको उक्त योजना अन्तर्गत सडक लाइट सम्बन्धि व्यवस्थापन पनि मिलाइने व्यवस्था समावेश रहेको छ।

-समन्वय तथा संचालन समिति

सम्झौताका कार्यहरु व्यवस्थापन गर्न समन्वय तथा संचालन समिति गठन गरिएको छ।

समितिमा नगर प्रमुख, प्रहरी उपरीक्षक, सूचना प्रविधि र अन्य शाखाका प्रमुखहरु सदस्य रहनेछन्।

-आयोजना कार्यान्वयन/अनुगमन

CCTV प्रणालीको स्थापना, परीक्षण, निगरानी तथा मर्मतसम्भार सम्बन्धी जिम्मेवारीबारे स्पष्ट व्यवस्था गरिएको छ।

परियोजनाको गुणस्तर तथा कार्य सम्पन्नताबारे समितिद्वारा अनुगमन र विश्लेषण गरिने व्यवस्था छ।

-अन्य व्यवस्था

CCTV सिस्टमका लागि आवश्यक सडक प्रकाश (street light) समेत मिलाइने व्यवस्था गरिएको छ।

सिस्टम सञ्चालनका लागि सम्बन्धित कानून, नियम तथा प्राविधिक मापदण्डहरु पालन गरिने सुनिश्चित गरिएको छ।


प्रतिकृया दिनुहोस्