
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उम्मेदवार चयनमा ‘प्राइमरी’ निर्वाचन गर्ने प्रस्ताव गरेका छन्।
काठमाडौँको भृकुटीमण्डपमा जारी कांग्रेसको विशेष महाविधेशनको बन्दसत्रमा महामन्त्री थापाले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्तावमा ‘प्राइमरी’ निर्वाचनको विषय समेटिएको छ। यससँगै ‘नो भोट’को पनि व्यवस्था गर्न उनले प्रस्ताव गरेका छन्।
‘मतदाताको अधिकारलाई अर्थपूर्ण बनाउन नो भोटको कानुनी सुनिश्चिता र विदेशमा रहेका नेपालीको मतदानको अधिकारलाई सुनिश्चित गरिनेछ भने उम्मेदवार चयनमा सदस्यतामा आधारित प्राइमरी निर्वाचन जस्तो लोकतान्त्रिक अवधारणाहरू संस्थागत गरिनेछ,’ प्रस्ताव भनिएको छ।
यससँग राजनीतिक दललाई राज्य कोषबाट खर्च दिने व्यवस्था गर्न पनि उनले प्रस्ताव गरेका छन्। ‘निर्वाचन खर्चलाई पारदर्शी बनाउन प्राप्त मत भारका आधारमा राजनीतिक दलहरूलाई राज्य कोषमार्फत अनुदान उपलब्ध गराउने र दलहरूको आर्थिक गतिविधिमा कठोर वित्तीय अनुशासन कायम गर्ने व्यवस्था लागू गरिनेछ,’ प्रस्तावमा उल्लेख छ।
















