
काठमाडौं । नेकपा एमाले गुल्मी–२ क्षेत्रीय समन्वय कमिटीले उपाध्यक्ष गोकर्ण विष्टको एकल नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
निर्वाचन क्षेत्र समन्वय कमिटीले आइतबार अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गर्दै पार्टी कमिटी बैठकले उपाध्यक्ष विष्टलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको जानकारी गराएको हो।
पुस १६ गते बसेको बैठकले पार्टीका केन्द्रीय उपाध्यक्ष गोकर्ण विष्टलाई एकल उम्मेदवारका रूपमा उम्मेदवार सिफारिस गरेको छ,माथिल्लो कमिटीलाई जानकारी गराइएको निर्णयमा उल्लेख छ।
जिल्ला तहका एक नेताले केन्द्रीय सदस्य रामकुमारी झाक्री, राजेन्द्र अर्याल, नगेन्द्र अर्याल लगायतको नामबारे पनि छलफल भएको बताए।
निर्वाचन क्षेत्रीय समन्वय कमिटीले भने नेताहरूले आकांक्षा राख्नु स्वाभाविक नै भए पनि अन्तिममा सर्वसम्मत एकल नाम पठाइएको बताएको छ।
गत महाधिवेशनमा उपाध्यक्ष निर्वाचित विष्ट उक्त निर्वाचन क्षेत्रबाट लगातार चुनाव जित्दै आएका छन् ।































