
काठमाडौं । अंग्रेजी नयाँ वर्षको पहिलो दिन आज नेपालभर राष्ट्रिय पोसाक तथा राष्ट्रिय टोपी दिवस विभिन्न कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ।
‘नेपाली टोपीः हाम्रो शान, हाम्रो पहिचान’ तथा मौलिकता, सम्पदा र धरोहर संरक्षणका नारासहित देश-विदेशमा रहेका नेपाली समुदायले उत्साहका साथ यो दिवस मनाएका हुन्।
जागरुक युवा अभियान नेपाल र राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानलगायत संस्थाहरूको अगुवाइमा काठमाडौंका विभिन्न स्थानमा र्याली, सांस्कृतिक कार्यक्रम र प्रदर्शनी आयोजना गरिएको थियो।
सहभागीहरू दौरा-सुरुवाल, ढाका टोपी, भादगाउँले टोपी, गुन्यू-चोलोलगायत परम्परागत पोशाकमा सजिएर राष्ट्रिय पहिचानको संरक्षण र प्रवर्द्धनको सन्देश दिएका थिए।
यस दिवसले युवापुस्तामा राष्ट्रिय पोसाकप्रतिको आकर्षण बढाउँदै लगेको छ भने सरकारलाई पनि मौलिक संस्कृतिको संरक्षणमा थप ध्यान दिन प्रेरित गरिरहेको छ ।

















