
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापा पार्टीमा नहुँदा अपूर्ण जस्तो लागिरहेको र अब पूर्ण भएको बताएका छन् ।
आज राप्रपा–राप्रपा नेपालबीचको एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले कमल थापाले पार्टी छाडेर गएपछि रिक्तता भइरहेको पनि बताए ।
‘कमल दाइ नहुँदाको राप्रपा मेरो मनमा अपूर्ण जस्तो लाग्थ्यो । उहाँले छाडेर जानुभयो, म पार्टीको अध्यक्ष, मैले रोएर हिँड्न पनि नहुने । कमल दाइ नभएर यो पार्टी भएन भन्न पनि नहुने । उहाँ नभएर पनि चल्छ भन्नुपर्यो । चलायौं पनि,’ उनले भने।
लिङ्देनले थप भनेका छन्, ‘तर मनमा एक प्रकारको रिक्तता भइरहेको थियो । आज त्यो पूरा भएको छ । सबै जना बेखुसी हुनुहुन्थ्यो, आज त्यो पूर्ण भएको छ । सबैजना खुसी हुनुहुन्छ, सबैभन्दा बढी म खुसी छु ।’
उनले पार्टीलाई कसैले पनि एक्लै चलाउन नसक्ने भन्दै सबै मिलेर अघि बढ्नुपर्ने बताए । पार्टी अध्यक्षको हिसाबले आफूले त्यसको नेतृत्व लिने पनि बताए ।
‘कोही एक्लैले चलाउने होइन, हामी सबैले मिलेर चलाउने हो । पार्टी अध्यक्षको हिसाबले सबैलाई मिलाएर लान्छु । तपाईंहरूले अन्यथा सोच्नु पर्दैन, सबैलाई मिलाएर लैजाने जिम्मा मेरो हो,’ अध्यक्ष लिङ्देनले भने ।

















