
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी प्रतिक्रियावादी शक्तिहरूले सामाजिक सञ्जालमार्फत होहल्ला गरेको बताएका छन् ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार आयोजित कार्यक्रममा प्रचण्डले त्यसमै रमाएर एक थरीले नेपाल नै कब्जा भइसकेको जस्तोगरी प्रचार गरिएकोमा असन्तुष्टि पोखे।
कार्यक्रममा प्रचण्डले ऊर्जामन्त्री समेत रहेका कुलमान घिसिङप्रति लक्षित गरी पार्टी र जनताले लगाएको गुन बिर्सिएको आरोप लगाए ।
विदेशी प्रतिक्रियावादी शक्तिहरूले फेसबुक, एक्स लगायत सामाजिक सञ्जालमार्फत होहल्ला गरिरहेका छन् । त्यसमा रमेर नेपाल कब्जा भइसकेको जस्तो गरी एक थरीले प्रचार गरेका छन् । पार्टी र जनताले लगाएको गुनलाई बिर्सिएर मान्छेहरू बैगुनी बनेर हिँडेका पनि छन्’, उनले भने ।
प्रचण्ड र शेरबहादुर देउवा नेतृत्वको सरकारमा दुई पटक घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी प्रमुख भएका थिए । पछिल्लो केपी ओली सरकारको बर्खास्तीमा परेका घिसिङको समर्थनमा तत्कालीन विपक्षी दल नेकपा माओवादीले संसद्मा विरोध गरेको थियो ।
आगामी निर्वाचनमा नेकपालाई समर्थन गर्ने वा चुनावी तालमेल गर्ने अपेक्षा गरेका प्रचण्डले यसअघि घिसिङको कार्यशैलीप्रति सार्वजनिक रूपमै आलोचना गरेका थिए ।

















