
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीचको मिलन कुनै अनौठो नभएको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँगको कुराकानीमा गुरुङले रवि लामिछाने र बालेनबीचको सहमति राजनीतिमा कुनै अनौठो नरहेको बताए ।
उनले राजनीतिमा को-को जुट्छन् र को-को फुट्छन् भन्ने कुरा कांग्रेसलाई चासोको विषयको नभएको बताए । राजनीतिमा फुट्ने र जुट्ने भइरहने भएकाले अनौठो मान्न नहुने उनले बताए । बालेन र रविको सहमतिलाई मैले अनौठो मानेको छैन । को-को मिल्छन्, को-को जुट्छन्, को-को फुट्छन् । राजनीतिक यात्रामा यो भइरहने हो । त्यसकारण यो अनौठो मान्नुपर्दैन, गुरुङले भने ।
राजनीतिमा सबैखाले चुनौती आउने भन्दै हरेक चुनौतीको सामना गरेर आएको कांग्रेसले यसलाई गम्भीर रूपमा लिन आवश्यक नरहेको बताए । राजनीतिमा सबै चुनौतीहरू हुन्छन् । राजनीति सरल ढंगबाट अघि बढ्दैन । राजनीति भनेको चुनौती हो । हरेक चुनौतिको सामना गर्न तयार भएको कांग्रेसले राणाकालीन चुनौती, पञ्चायती चुनौती फेस गरेको कारणले अब अहिले आएर कोको मिल्छन् त्यसलाई खासै गम्भीर ढंगले लिएको छैन, गुरुङले भने ।

















